Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आरजुको दबाबसामु मन्त्री–सचिव निरीहः संचार क्षेत्रका सबै नियुक्तिमा पौडेल परिवारको कब्जा


    बिहिबार, साउन ५ २०७९
    2K
    Shares
  • ६ मिनेट पाठ
  • काठमाडौं । सरकारी एकीकृत डाटा केन्द्र एक डाटा भण्डारण, व्यवस्थापन, प्रशोधन र आदानप्रदान गर्नका लागि स्थापित राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेललाई नियुक्ति गरिएको छ ।

     आमनागरिकले भन्दा सूचना प्रविधि क्षेत्रकै जानकारहरुले समेत नचिनेका पौडेललाई संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दर्जनौं विज्ञहरुलाई पन्छाएर नियुक्ति गरेका हुन् । सरकारका प्रवक्ता कार्की नै हुन् भने पौडेलको नियुक्ति कुन मापदण्डका आधारमा कसरी गरियो, त्यसबारे अहिलेसम्म जनमानसमा उनले सार्वजनिक गरेको रेकर्डमा देखिंदैन । हप्ताको एक दिन मन्त्रीपरिषदका निर्णय कार्कीमार्फत् नै सार्वजनिक हुने गरेका छन् । तर आफ्नै मातहतका निकायमा आफैंले सिफारिस गरी नियुक्ति पाएका पौडेलका बारेमा कार्की नै अनभिज्ञ छन् या उनको नियुक्तिमा उनको पनि असन्तुष्टि छ ?

     स्रोत भन्छ, केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा बालुवाटारको नांगो हस्तक्षेप प्रकट भयो । संचार मन्त्री र सचिवले नियुक्तिमा हस्ताक्षर गर्नुबाहेक पौडेलको नियुक्तिका सन्दर्भमा आफूहरु अनभिज्ञ रहेको निकटस्थहरुसँग दुखेसो पोख्ने गरेका छन् । करिब २ महिनादेखि प्रतिस्पर्धाका नाममा सर्टलिष्टिङ गर्नेदेखि लिएर सर्टलिष्टमा परेकालाई प्रस्तुतीकरणको नाटक समेत नदेखिएको होइन तर यी प्रक्रिया पूरा गर्नका लागि देखावटीमात्र थिए ।

    स्रोतका अनुसार  पर्दापछाडि पहिले नै प्रदीप शर्मा पौडेललाई नियुक्ति गर्नेगरी बालुवाटारमा आरजु राणासँग सेटिङ भइसकेको थियो । मन्त्री कार्कीकै कार्यकक्षको दुई तलामाथि बस्ने सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्रको कार्यकारीका लागि सेटिङ गरिरहँदा यता मन्त्रालयका अधिकारीहरु भने प्रतिस्पर्धाको नाटक मन्चन गरिरहेका थिए । 

    सूचना प्रविधिको क्षेत्रमा माफियाको प्रवेश गराउने डिजाइनरका रुपमा विकल पौडेललाई चिन्ने गरिन्छ । जसलाई माओवादीका मन्त्री राम कार्कीले सुरक्षण मुद्रणमा नियुक्ति गरे । एमालेका विवादित मन्त्री गोकुल बास्कोटाले पुनर्नियुक्ति गरे । बिजय मिश्रको ७० करोड रुपैयाँ काण्डका पर्दापछाडिका डिजाइनर पनि उनै विकल पौडेल नै हुन् ।

    ज्ञानेन्द्र कार्की आवद्ध दल नेपाली कांग्रेसले प्रतिगामी भनेको केपी ओलीको सरकारले नियुक्ति गरेका तिनै पौडेललाई प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पुनः नियुक्ति गरे । देशमा विद्यमान क्रान्तिकारीदेखि प्रजातन्त्रवादी दाबी गर्ने सबै पार्टीका सरकारलाई घुमाउन र प्रभावमा पार्न सफल तिनै विकल पौडेलका नाताले दाजुभाइ पर्ने प्रदीप शर्मा पौडेल राष्ट्रिय सूचना प्रबिधि केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएपछि सूचना प्रविधिका विज्ञहरु आश्चर्यमा परेका छन् । रोचक पक्ष त के छ भने विकल पौडेल आफूमात्र एकछत्र टिकिरहेका छैनन्, उनले नेपालको संचार क्षेत्रका सबै निकायमा आफ्नै परिवारका सदस्यलाई नियुक्ति गरेर कीर्तिमान कायम गरेका छन् । एकै घरका तीन दाजुभाइ नेपालको संचार मन्त्रालय अन्तर्गतका महत्वपूर्ण निकायको प्रमुख कार्यकारी हुन सफल भएर गिनिज बुकमै नाम लेखाउने संभावना उत्तिकै देखिएको छ । 

    यौनहिंसााको आरोप लागेपछि अमेरिका पलायन भएका पौडेलले उतैबाट उक्त प्रकरणलाई सेटल गरी नेपाल फर्किएलगत्तै प्रदीपको नियुक्तिको सेटिङ र चलखेलमा लागे । अन्ततः देशकी शक्तिशाली प्रथम महिला आरजु राणालाई प्रभावमा पारेकाले प्रदीपको नियुक्ति भएरै छाडेको विकलले नै बताउँदै हिंडेका छन् ।

    नेपाल दूरसंचार कम्पनी (टेलिकम)मा बाहिरकाले प्रबन्ध निर्देशक बन्न नपाउने विनियमावलीलाई विकलकै योजनामा संशोधन गरी उनका दाजु सुनिल पौडेललाई नियुक्ति गरिएको थियो । सुनिल त्यसअघि सूचना प्रविधि केन्द्रकै कार्यकारी निर्देशक थिए । सिंहदरवारदेखि भद्रकालीसम्मका सूचना प्रविधिसँग सम्बन्धित सबै निकाय विकलका परिवारले कब्जा जमाएका छन् भने विकल आफैं भने केही समयपछि रिक्त हुन लागेको दूरसंचार प्राधिकरणको अध्यक्ष बन्ने खेलमा छन् । जसको सेटिङ अहिलेदेखि नै सुरु भइसकेको छ । ज्ञानेन्द्र कार्कीले उनको नियुक्तिका लागि अहिलेका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई उपयुक्त समयमा राजीनामाका लागि तयार रहन संकेत गरिसकेको संचार मन्त्रालयका एक अधिकारीले बताए ।निरीह खनाल केही समयसम्म टिक्न दिएमा राजीनामा दिन तयार भएको उनी निकट प्राधिकरण स्रोत बताउँछ । 

    गएको जेठ १३ गते केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग गरिएको थियो । जसमा १३ जनाले आवेदन दिएका थिए । आवेदन दिएकाहरुमध्येबाट अरुलाई योग्यताक्रममा पछि राखी सेटिङमै प्रदीप छनोट गरिएको थियो । यसअघि केन्द्रका कार्यकारी निर्देशक प्रदीपकै बन्धु सुनिल पौडेल थिए । उनलाई २०७८ चैत २४ को मन्त्रिपरिषदको बैठकले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेपछि केन्द्रको कार्यकारी निर्देशक पद रिक्त भएको थियो । 

    सुनिल र बिकल दुवै अमेरिकी पीआरधारी

    नेपालको संचारक्षेत्रमा कब्जा गर्न सफल विकल पौडेल अमेरिकी नागरिक हुन् । आरजु राणाले विनियम नै संशोधन गरी टेलिकमको एमडी नियुक्ति गरेका सुनिल पनि अमेरिकी ग्रिनकार्डहोल्डर नै हुन् । पूर्वमुख्यसचिव लीलामणि पौडेल र पूर्वमन्त्री लालबाबु पण्डितले नेपालको प्रशासनतन्त्रमा विदेशी पीआर लिएकाहरुलाई त हटाउन सफल भए । तर सत्ता हातमा लिएका एमाले र कांग्रेसले भने नेपालको संचार क्षेत्रका महत्वपूर्ण निकायमा अमेरिकी पीआरधारीलाई नियुक्ति गरेका छन् । त्यसका दृष्टान्त हुन् विकल पौडेल र सुनिल पौडेल । संचार जस्तो संवेदनशील निकायको प्रमुखमा विदेशी पीआर लिएकाहरुलाई नियुक्ति गरिएको छ । टेलिकम धरासायी पारी एनसेल पोस्नकै लागि अरबौंको चलखेलमा सुनिल पौडेल आएका समाचार सार्वजनिक भइसकेका छन् । टेलिकमको रत्तिभर माया नभएका पौडेललाई एनसेलकै लगानीमा नियुक्ति गरिएको आरोप प्रधानमन्त्री देउवामाथि छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार