Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माल्दिभ्सका पर्यटन मन्त्रीलाई सगरमाथाको ढुंगा हस्तान्तरण


    बुधबार, असार २२ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । माल्दिभ्सका पर्यटन मन्त्रीलाई नेपालको सर्वोच्च शिखर सगरमाथाको ढुंगा हस्तान्तरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेशसुरस श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले माल्दिभ्सका पर्यटन मन्त्री डा.अब्दुल्ला मौसमलाई बुधबार सगरमाथाको ढुंगा हस्तान्तरण गरेको हो ।

    सगरमाथाको ढुंगा हस्तान्तरण कार्यक्रममा माल्दिभ्सको पर्यटन मन्त्रालयका परमानेन्ट सचिव फतमाथ निल्फासहितका त्यहाँको पर्यटन मन्त्रालयका अधिकारी समेत उपस्थित थिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका सहसचिव डा. श्रेष्ठले सगरमाथाको ढुंगा हस्तान्तरण गरेपछि माल्दिभ्सका पर्यटन मन्त्री मौसमले खुसी प्रकट गरेका थिए । उनले नेपाल र माल्दिभ्सबीचको मित्रतालाई अझ दर्बिलो बनाउने प्रतिबद्धता पनि प्रकट गरेका थिए । सो अवसरमा क्षेत्रीय सहयोगका बिषयमा पनि छलफल भएको प्रतिनिधिमण्डलका नेता सहसचिव श्रेष्ठले बताए । नेपाल र माल्दिभ्समा पर्यटनको विकासका लागि दुवै देशका नागरिकहरुको भ्रमण कार्यक्रम राख्ने बिषयमा समेत छलफल भएको थियो । नेपालको प्रतिनिधिमण्डलले माल्दिभ्सकोे पर्यटन मन्त्रालयको प्रतिनिधिमण्डललाई नेपाल भ्रमणको निमन्त्रण समेत दिएको छ ।  

    माल्दिभ्सको अर्थतन्त्र पर्यटनमा टिकेको छ, समुद्रमाथि रिसोर्ट छन् । टापुबीच तैरने पानीजहाज र आकर्षक समुद्री किनारले जोकोहीलाई लोभ्याउँछ । नेपालमा सर्वोच्च शिखर सगरमाथादेखि प्रायः सबै अग्ला हिमाल छन् । नेपाल पनि विश्वका लागि पर्यटनको गन्तब्य मुलुकमा पर्दछ । 

    तर जलवायु परिवर्तनले नेपालका हिमाल नांगै हुने र माल्दिभ्सका टापु डुब्ने खतरा बढिरहेको छ । जलवायु परिवर्तनले समुद्रको पानी बढ्दै जाँदा अस्तित्व नै मेटिने खतरामा माल्दिभ्स छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार