काठमाडौं । औषधि ब्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कार्यालय नै खाली गरेर ७ वटा टोली औषधि उद्योगको निरीक्षणका लागि भारत र बंगलादेश पठाएका छन् ।
निवेदन दिएका ३४० औषधि उद्योगमध्ये विनामापदण्ड आफ्नो स्वार्थ अनुकूल ५८ वटा उद्योगको मात्र निरीक्षणमा पारेर मोटो रकम असुलेका महानिर्देशक भट्टराईले निरीक्षण महाशाखाका प्रमुख सन्तोष केसीलाई उद्योग छनोटका लागि डिल गर्न मुख्यरुपमा खटाएका थिए । बैशाखदेखि नै उद्योग छनोटका लागि लिलाम बढाबढ सुरु भएको र लिलाम स्वीकार्ने ५८ उद्योग निरीक्षणका लागि छनोटमा परेका थिए ।
५८ उद्योगबाट प्रतिउद्योग २० लाखका दरले कम्तीमा १२ करोड भन्दा बढी महानिर्देशक भट्टराईले उठाएर छनोटमा पारेको औषधि ब्यवस्था विभागभित्रै चर्चा हुने गरेको छ । मापदण्ड विना नै गुपचुप छनोटमा पारिएकाले पनि सेटिङको आशंकालाई पुष्टि गरेको छ । रोचक पक्ष त के छ भने कम्पनीले रुचाएका र तिनैले सिफारिस गरेका कर्मचारीहरुलाई निरीक्षणमा पठाइएको छ । कम्पनीले समेत आफ्ना सेटिङका कर्मचारी निरीक्षणमा पार्न लागि महानिर्देशक भट्टराईलाई छुट्टै घुसको ब्यवस्था गरेको स्रोतको दाबी छ ।
आइतबारदेखि खटिएको ७ वटा टोलीलाई १० दिनको कार्यादेश दिएर भ्रमण स्वीकृत गरिएको छ । एउटा टोलीमा २ जना रहनेगरी कम्तीमा १४ जना कर्मचारी खटाइएको छ । जसमा कम्पनीका एजेन्टहरु, महानिर्देशक भट्टराई र महाशाखा प्रमुख केसीका बिचौलियाहरु समेत सँगैसँगै निरीक्षणमा गएका छन् ।
औषधि ब्यवस्था विभागमा महानिर्देशक मातहत उपसचिवस्तरका ६ जना कर्मचारी रहने ब्यवस्था छ । ती ६ जना नै उपसचिवस्तरका कर्मचारीहरु निरीक्षण टोलीको नेतृत्व गर्दै विदेशतिर लागेका छन् । जसले गर्दा विभाग र कार्यालय खाली छन् । विभागमा कार्यरत बरिष्ठ औषधि ब्यवस्थापकहरु सन्तोष केसी, प्रमोद केसी, शिवानी खड्गी विभागका तीन वटा महाशाखाका प्रमुख हुन् । विभागका ३ वटै महाशाखा प्रमुख अहिले निरीक्षणमा जाँदा कामकारबाही ठप्प भएका छन् ।
विभागका ३ वटा शाखा कार्यालय बीरगंज, नेपालगंज र बिराटनगरका कार्यालय प्रमुखहरु निरीक्षण टोलीको नेतृत्व गर्दै विदेश सयरमा गएका कारण असार मसान्तभित्र हुनुपर्ने कामहरु समेत रोकिएका छन् । एउटा निरीक्षण टोलीलाई कम्तीमा ८ वटा उद्योगको निरीक्षण गर्नेगरी कार्यादेश दिइएको छ । विदेशी औषधि कम्पनीले सेटिङ गरेका र भट्टराई र केसीले रुचाएका कर्मचारीमात्रै टोलीमा सहभागी भएका कारण औपचारिकता पूरा गर्नका लागि मात्रै निरीक्षण भ्रमण भएको स्रोत बताउँछ ।
औषधि उद्योगको सेटिङका कर्मचारीमात्र निरीक्षणमा खटिएकाले सकारात्मक प्रतिवेदन आउने निश्चित जस्तै छ । विदेशमा गएको टोली छिटोमा आइतबार फर्किने र नाममात्रको प्रतिवेदन बनाएर सेटिङका उद्योगहरुलाई धमाधम नेपालमा औषधि बिक्रीबितरणको स्वीकृति दिने महानिर्देशक भट्टराईको योजना छ । अरु सबै काम छाडेर महानिर्देशक भट्टराई आफ्नै कार्यकक्षमा बसेर भ्रमण टोलीको दैनिक रिपोर्ट लिन ब्यस्त छन् ।
विदेशी औषधि कम्पनीको निरीक्षणमा पर्न निवेदन दिएका र छनोटका क्रममा कबोल गरिएको कम्तीमा १२ करोड घुस स्वास्थ्य तथा जनसंख्या मन्त्री, सचिव र अख्तियारजस्ता निकायका स्वास्थ्य मन्त्रालय हेर्नेहरुका लागि पनि छुट्याइएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार महानिर्देशक भट्टराईले मन्त्रीलाई ३, सचिवलाई २, त्यही हाराहारीको रकम अख्तियारसहितका निकालयलाई छुट्याएका छन् । मन्त्री, सचिव सहितका निकायलाई छ्ट्याएर बाँकी रहेको घुस महानिर्देशक भट्टराईसहितका भ्रमण टोलीका सदस्यहरुले हैसियत अनुसार भागशान्ति गर्ने योजनामा उनी रहेका छन् ।
एउटा सामान्य काम गर्न पनि स्पष्ट मापदण्डको सहारा लिने खोज्ने भट्टराईले औषधि जस्तो संवेदनशील उद्योगको छनोट गर्दा कुनै पनि मापदण्ड अपनाउन आवश्यक ठानेनन् । उनले भन्ने गरेका छन्–केको मापदण्ड ? बिरोधमा उत्रनेहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने काइदा मसँग छ भन्ने गरेका छन् । औषधि उद्योगको निरीक्षणमा दररेट अुनसार उठाएर सेटिङका कम्पनीमात्र पारिएको बिषयमा सोझा मन्त्री भवानीप्रसाद खापुङलाई गुमराहमा राखिएको छ । चत्ुर सचिव डा. पोखरेलले भने यो मामलामा सेटिङमा साथ दिएको महानिर्देशक भट्टराईनिकटस्थहरुले नै सूचना लिक गरेका छन् ।