Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध मल बोकेका २ वटा ट्रक किसानको नियन्त्रणमा, ब्यापारीले लुट्न लगाएको आरोप


    शनिबार, असार ४ २०७९
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अबैध रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । सशस्त्र प्रहरी बलले बरामद गर्न लागेको उक्त मल लुटिएको छ ।

    मल बोकेको ट्रकलाई धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा राजमार्गछेउमा रोकेर किसानहरुले रासायनिक मल झिकेर लगेका हुन् ।
    अवैध रासायनिक मल लिएर आएका ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । भन्सार छली गरेर ल्याउँदै गरिएका दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।

    गहुँ र सिमेन्टको कागज बनाएर दुईवटा ट्रकमा रासायनिक मल ल्याइएको पाइएपछि विभागले हिजो नियन्त्रणमा लिएको थियो ।
    त्यसपछि उक्त ट्रकलाई आज सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

    शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४–५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो ।

    सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ ।

    मलको अभाव भोगिरहेका किसानहरूले पृथ्वी राजमार्गको बीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिव ५ सय जना किसानले मल लिएका छन् ।

    विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल ‘लुट्न लगाएको’ किसानहरूले बताएका छन् ।

    राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार