Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसएसपीबाट डीआइजी बढुवा प्रकरणः आइजीपीको बदनाम गर्दै बिचौलिया


    बिहिबार, जेष्ठ १९ २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बढुवा भइसकेपछि रिक्त डिआईजीमा पदोन्नतिका लागि एसएसपीहरुको दौडधूप बढेको छ । १७ डीआईजीका लागि ३७ एसएसपी प्रतिस्पर्धामा छन् । केही एसएसपीहरु नेताहरुका घर घर धाउनेदेखि बिचौलियाहरुलाई परिचालन गरी एक नम्बरमा बढुवा हुने खेलमा छन् ।

    बिचौलियाहरुले आइजीपीदेखि नेतालाई मिलाएर एक नम्बरमा बढुवा गराउने आश्वासन पनि केही एसएसपीलाई दिइसकेका छन् । अहिले डीआइजी वढुवामा पहिलो नम्बरमा पर्नसके आगामी ११ महिनापछि आईजीपीमा प्रतिस्पर्धा गर्न सहज हुने भएका कारण अस्वभाविक चलखेल भएको हो ।

     काठमाडौं परिसरको एसपी हुँदा समानान्तर निर्माण सेवाका अच्यूत खरेलसँग कनेक्सन मिलाएका एसएसपी अशोक सिंहदेखि एयरपोर्ट काण्ड लागेका सन्दीप भण्डारी १ नम्बरमा बढुवा हुनका लागि नेताको घर घर धाउने र बिचौलियाहरुलाई परिचालन गरिरहेका छन् । देखावटी रुपमा एक इन्टरनेट सेवा प्रदायक कम्पनी सचालन गर्ने र त्यसबाहेक सशस्त्र र नेपाल प्रहरीका अधिकृतहरुलाई बढुवादेखि आकर्षक ठाउँमा सरुवा गर्ने बिचौलियाको काम गर्ने सुवास पाठकले भण्डारीलाई नेताका घरमा लाने गरेका छन् । सामाजिक संजालमा समेत बिचौलिया पाठकको चलखेलबारे चर्चा हुन थालेको छ ।

    suwas pathak.jpg
    सुवास पाठक

    आइजीपी धिरजप्रताप सिंह साथी भएको र उनीसँग राम्रो सम्बन्ध छ भन्दै पाठकले उनलाई एक नम्बरको डीआइजी बढुवा गर्ने आश्वासन दिएका छन् । त्यसका लागि विभिन्न नेताहरुकोमा लाने काम समेत उनैले गर्दैआएका छन् । प्रदेश १ का सभाम्ुख प्रमोद भण्डारीका भाइ सन्दीप केपी ओली सरकार हुँदा एमालेनिकट भन्थे, शेरबहादुर देउवा सरकार गठनपछि नेपाली कांग्रेसको खाँट्टी बन्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीदेखि विभिन्न नेताहरुकोमा धाउने गरेका छन् । उनलाई नेताकोमा लाने काम पाठकले नै गर्दैआएका छन् ।  प्रहरीमा राजनीतिक कित्ताकाट गर्नेमा भण्डारी अग्रपंक्तिमा पर्दछन् । सधैं शक्तिकेन्द्र र हाकिमहरुलाई रिझाएर लाभ लिएका भण्डारीले विश्वराज पोखरेललाई आइजीपी बनाउन संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकोमा लबिङ गरेका थिए ।

    वरियतामा एक नम्बरमा बढुवा हुनका लागि एसएसपी अशोक सिंहले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवादेखि डा. आरजु राणालाई मिलाएको दाबीका साथ एक नम्बर हुने खेलमा छन् । काठमाडौं परिसरको भवन निर्माणको ठेक्कामा सम्झौता भइसकेपछि फायर फाइटिङको पाटोसहित केही छुटेको भनी १० करोड रुपैयाँ थप गराएबापत ठेकेदार अच्यूत खरेलले आधा करोड घुस दिएको चर्चा छ । एसएसपी अशोक सिंहको पालामा उक्त १० करोड समानान्तरलाई थप गरिएको थियो । 

    अशोक सिंह काठमाडौं परिसर प्रमुख हुँदा राजकुमार बरालको हराएको चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर घुस बार्गेनिङ गरेको आरोप छ । २०७८ असोजमा सुभाष भेटवालले जुवाखालमा बरालको चेक भेटेर एसएसपी सिंहसँग मिलेर रकम भरी तर्साएका थिए ।  घुस नदिए चेक अनादरमा मुद्दा चलाउने भनी बराललाई बार्गेनिङ गरेको बिषयमा प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको थियो ।  

    डिआइजी राजेशलाल कर्णको संयोजकत्वमा छानबिन समितिले चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरेको भन्दै एसएसपी अशोक सिंहलाई कारबाहीको सिफारिस गरेको थियो । चेक बाउन्स नै नभएको अवस्थामा भेटवालले उजुरी गरेको र प्रहरीले क्षेत्राधिकारबाहिर गएर सो मुद्दाको अनुसन्धानमा बद्नियत राखेको प्रतिवेदनमा उल्लेख गरे पनि उनीमाथि केही कारबाही हुन सकेन । तर समितिको प्रतिवेदन अनुसार उनलाई कारबााही गरिएन । बरु उनी एक नम्बरमा डीआइजी बढुवा हुन लागेका छन् । कारबाही सिफारिस भएका अशोक सिंहलाई बढुवा गर्नका लागि भूषण राणा समेत लागेका छन् । विवादमा नपरेका एसएसपी हुँदाहुँदै जुनियर र कारबाहीको सिफारिसमा परेकाहरुले चलखेल बढाएपछि प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रायसम्म नै शक्तिकेन्द्रको दबाब बढेको छ ।

    डीआइजी बढुवाका दाबेदार एसएसपीहरुमा २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएका टेकप्रसाद राई, उमेशराज जोशी, दीपक थापा, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, सन्दीप भण्डारी,  मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल छन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनमा निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोप लागेकी एसएसपी किरण बज्राचार्य पनि डिआईजी बन्न दौडधुपमा छिन् । किरणविरुद्ध परेको उजुरी अहिले पनि अख्तियारमा विचाराधीन छ ।

    त्यस्तै, एसएसपी वन्तबहादुर कुँवर र दीपक थापा पनि गृहदेखि बालुवाटारसम्म लबिङ गरिरहेका छन् । एसएसपी श्याम ज्ञवाली गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे नाता पर्ने भएकाले उनले बढुवा गर्ने कुरामा ढुक्क छन् । पाण्डेले भनेअनुसार उनी शक्तिकेन्द्रमा धाउन भने छाडेका छैनन् । उनी गृहमन्त्री बालकृष्ण खाँड बुटवलकै भएकाले पनि बढुवामा अन्याय हुन नसक्ने कुरामा आशावादी छन् ।

     एसएसपीद्वय उमेशराज जोशी र रामदत्त जोशी भने सुदूरपश्चिमका भएकाले  ढुक्क छन् । यसैगरी, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हुँदा बालुवाटारमा पहँुच भएको दाबी गर्ने भीम ढकाल सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको शरणमा पुगेर बढुवा हुने दाउमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार