Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुकुम हत्या काण्डः जलाइयो मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर


    बुधबार, जेष्ठ ११ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाइएको छ । 

    आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका पाँच साथीहरूको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संयुक्त संघर्ष समितिले मंगलबार दिक्तेलको त्रिबेणी चोकमा मुलुकी ऐन १९१० र मुलुकी ऐन लागू गर्ने जंगबहादुर राणाको तस्बीर जलाएको हो । 

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा प्रेमीका पक्षले कुटीकुटी नवराजसहित ६ जनाको १० जेठ २०७७ मा हत्या गरेका थिए । सोही हत्याकाण्ड भएको दुई वर्ष पुगेको दिन पारेर संघर्ष समितिले जात व्यवस्था विरुद्धको प्रतिरोध दिवस आयोजना गरेको हो । 

    जंगबहादुरले निर्माण गरेको मुलुकी ऐनले जात व्यवस्थालाई संस्थागत रुपमा विकास गरेको र सोही जात व्यवस्थाको परिणाम नवराजसहित ६ जनाले ज्यान गुमाउनु परेकाले जंगबहादुर र मुलुकी ऐनको तस्बीर जलाइएको संघर्ष समितिका संयोजक दिपक ठटालले बताए । 

    जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित संघर्ष समितिले रुकुम घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन  गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम गर्दैआएको छ । 

    वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तिले पश्चिमरुकुम घटनालाई गम्भीरतापूर्वक नलिँदा नवराजसहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संयोजक ठटालले बताए । 

    संघर्ष समितिले यसअघि जिल्लाका १० वटै स्थानीय तह र सरकारलाई ज्ञापनपत्र बुझाउने, घरेलु हतियार प्रदर्शन गर्ने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, राँके जुलुस प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार