काठमाडौं, ५ चैत । सरकारले बिक्रम सम्बत् २०७७ सालको बिदा सार्वजनिक नगर्दा क्यालेण्डर छपाईमा समस्या परेको छ । पञ्चाङ निर्णायक समितिले पात्रो तयार गरी गृह मन्त्रालयमा पेश गरेको करिब तीन महिना बितिसक्दा पनि सरकारले बिदा सार्वजनिक गर्न सकेको छैन । तर पञ्चाङग निर्णयक समितिले पात्रो छपाई गरिसकेको जनाएको छ ।
पञ्चाङग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले हालसम्म बिदा सार्वजनिक नहुदा समस्या परेको बताउनुभयो । तर गृहलाई दिएको बिदाको आधारमा क्यालेण्डर छपाई गरिसकेको उहाको भनाई छ ।
समितिले यसअघि गृहमन्त्री रामबहादुर थापालाई भेटगरी पात्रो दिएलगत्तै आउदो वर्षको बिदा चाडै सार्वजनिक गर्न आग्रह गरेको थियो । समितिको आग्रहअनुसार मन्त्रालयले केही दिनअघि बिदासहितको क्यालेण्डर मन्त्री परिषद्मा पेश गरेको थियो ।
गृह मन्त्रालयका आन्तरिक प्रशासन सवारी तथा सभा समारोह व्यवस्थापन शाखा प्रमुख नारायणप्रसाद भट्टले बिदाको क्यालेण्डर तयार गरी मन्त्री परिषदमा पेश गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–मन्त्रालयले सबैकाम पुरा गरिसकेको छ, मन्त्रीपरिषदले निर्णय गर्ला ।
सरकारले वर्षभरीको बिदा सार्वजनिक नगर्दा हालसम्म क्यालेण्डर प्रकाशन हुन सकेको छैन । क्यालेण्डर प्रकाशकले मनपरी रुपमा क्यालेण्डर प्रकासन गरी बिक्रि गरिरहेका छन् । सरकारले गतवर्ष चैत १ गते मन्त्रीपरिषदले बिदा सार्वजनिक गरी ३ गते राजपत्रमा प्रकाशित गरेको थियो । करिब एक साता बितिसक्दापनि क्यालेण्डर प्रकाशित हुन नसकेपछि समस्या पर्ने देखिएको छ ।