Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एआइजी बढुवा अन्यौलमा, डीआइजीका लागि मारामार


    मंगलबार, जेष्ठ ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको आइजीपी नियुक्तिलगत्तै रिक्त एआइजी र डीआइजी बढुवाको लागि कसरत भइरहेको छ ।

    प्रहरीमा एआइजीका पाँच पद रिक्त छन् । अवकाशको मुखमा सिंगल बढुवा भएका एआइजी वसन्तकुमार लामा जेठ ७ मा अवकाश हुने भएकाले पाँच एआइजीकै बढुवा हुनेछ । रिक्त पाँच एआइजीमा डीआइजीद्वय उत्तमराज सुवेदी र अरुण बीसी यसअघि नै छुटेकाले उनीहरु पर्ने निश्चितजस्तै छ । बढुवाको लाइनमा डीआइजीहरु मुकुन्द आचार्य र दिवेश लोहनी हुन् । पाँचौं दाबेदारमा ३ महिनाअघि बढुवा भएकी डीआइजी पूजा सिंह पनि छिन् । डीआइजीहरु बढुवाको लाइनमा भए पनि एआइजीको दरबन्दी नै कटौती गर्ने चर्चा पनि प्रहरी संगठनमा चल्न थालेको छ । गएको चैतमा थपिएका तीन एआइजीको दरबन्दी कटौती गर्ने खेल पनि प्रहरीमा भएको छ । आफूहरुको पहलमा थपिएकाले ती दरबन्दी अब आवश्यक नभएको तर्क लाभ लिइसकेकाहरुले गर्न थालेका छन् । जसका कारण डीआइजीहरु मुकुन्द आचार्य र दिवेश लोहनीहरु बढुवा नभई अवकाश हुने अवस्था निम्तिएको छ । 

    त्यसैगरी, प्रहरीमा रिक्त १७ डीआइजीमा बढुवाका लागि एसएसपीहरुको चर्को दौड सुरु भएको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै डीआइजी बढुवा हुने भएकाले एसएसपीहरु सत्तारुढ दलका नेता र शक्तिकेन्द्र धाउन थालेका छन् । 

    डीआइजीमा बढुवा हुनका लागि ३७ एसएसपीबीच प्रतिस्पर्धा छ । बढुवाको दौडमा रहेका अघिल्लो टोलीका १३ एसएसपी बढुवाका प्रमुख दाबेदार छन् । जसमा टेकप्रसाद राई, उमेशराज जोशी, दीपक थापा, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, सन्दीप भण्डारी,  मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल छन् । उनीहरुमध्ये को पहिलो नम्बरमा हुने भन्ने चर्को भीडन्त छ । यी मध्ये सबैभन्दा बढी चलखेल गर्नेमा सन्दीप भण्डारी, उमेशराज जोशी, श्याम ज्ञवाली र रामदत्त जोशी छन् । भण्डारीले सुविसुका सुवास पाठकजस्ता बिचौलियाहरुलाई बोकेर हिंडेका छन् । सधैं शक्तिकेन्द्र र हाकिमहरुलाई रिझाएर लाभ लिएका भण्डारीले विश्वराज पोखरेललाई आइजीपी बनाउन संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकोमा लबिङ गरेका थिए । शैलेन्द्र खनाल र सर्वेन्द्र खनाललाई मामा नाता लगाउने पाठकले आइजीपी धिरजप्रताप सिंहलाई आफैंले बनाउन सहयोग गरेको भन्दै भण्डारीलाई पहिलो नम्बरको डीआइजी बनाउने आश्वासन दिएको प्रहरी स्रोत बताउँछ ।

     ज्ञवालीले रुपन्देहीतिर घर भएकाले गृहमन्त्री बालकृष्ण खाँणको नजिक हुँ भन्दै बढुवामा लबिङ गरिरहेका छन् । रामदत्त र उमेशराज जोशी भने सुदूरपश्चिमको भौगोलिक सम्बन्ध नै बढुवाको आधार हुने भएकाले ढुक्क छन् । 

    पहिलो टोलीपछि १३ जनाको अर्को टोली छ । उनीहरुमध्ये अधिकांश कार्यक्षमतामा कमजोर छन् । बढुवाको लाइनमा एसएसपीहरु जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा अगाडि छन् । तर कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङ पनि बढुवा हुन लबिङमा छन् । यीमध्येका अशोक सिंहमाथि प्रहरी प्रधान कार्यालयले कारबाहीको लागि सिफारिस गरिसकेको हुँदा उनको बढुवा अन्यौलमा छ । तर उनी भने बालुवाटारकी शक्तिशाली महिला आरजु राणालाई प्रभावमा पारी एक नम्बरमा डीआइजी बढुवा हुने चलखेलमा छन् ।

     त्यसैगरी, गतवर्ष मात्र बढुवा भएका उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, विकासराज खनाल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेललगायत पनि बढुवामा छिर्ने प्रयासमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार