Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंक ठगीका नटवरलाल मधुसुदन सिलवाल


    सोमबार, साउन ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ११ मिनेट पाठ
  • काठमाडौं । तीन वटा बैंक र ब्यक्तिसमेतको गरी करिब ५० करोड रुपैयाँ अनियमितता गरेका मधुसुदन सिलवाल आइतबार बेलुका पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई भक्तपुरको बोडेबाट पिछा गर्दै बानेश्वरबाट नियन्त्रणमा लिएको थियो ।२०७० असारमा पक्राउ परेर धरौटीमा छुटेका भक्तपुर बालकोटका सिलवाललाई उच्च अदालत पाटनले उक्त हिनामिना प्रकरणमा दोषी ठहर्याउँदै ३ वर्ष कैद र १ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलापछि सिलवाल फरार थिए । प्रहरीले उनलाई खोजी गरिरहेको थियो । उनी स्थान, भेष र मोवाइल नम्बर बदल्दै काठमाडौंमै बसिरहेका थिए । अन्ततः आइतबार उनी प्रहरीको फन्दामा परेका छन् । सिलवालबिरुद्ध तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवाली (हाल थुनामा) र किष्ट बैंकका तत्कालीन नायब महाप्रबन्धक बीएन घर्तीसँग मिलेर ४ वटा कम्पनीलाई कर्जा प्रवाह गर्दा करोडौं अनियमितता गरेको आरोप छ । 

    को हुन् सिलवाल ?

    भक्तपुरको बालकोट स्थायी घर भएका ५६ बर्षीय सिलवालको जीवनको प्रारम्भिककाल दुःखमै बितेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । २०५५ सालसम्म उनी ड्राइभरको काम गर्थे । फोहोरमैला तथा स्रोत परिचालन केन्द्रको सवारीचालकमा बल्लतल्ल जागिर पाएका सिलवाल आकर्षक जीउडालका भएकाले उनी मान्छेलाई गफ दिएर फसाउन खप्पीस मानिन्थे । ललितपुर गोदावरीकी गीतालाई मायाजालमा पारी बिहे गरेपछि सिलवाल पाटन दरवार स्क्वायरनजिकै भाडामा बस्थे । त्यसबेलादेखि नै उनी दलालीको काममा लागेका हुन् ।

    घरजग्गाकै कारोबारका सिलसिलामा फिल्म लाइनमा लागेका सिलवालको भेट किष्ट बैंकका सीईओ कमल ज्ञवालीसँग भएको थियो । ज्ञवालीसँग भेट भएपछि सिलवालको कनेक्सन अरु वित्तीय संस्थामा पनि बढ्दै गयो । उनले कमल ज्ञवालीको श्रीमती गौरी खनालसँग साझेदारीमा जम्बुदीप प्रकाशन खोलेर त्यसमार्फत् पनि ऋण लिई घरजग्गामा लगानी गरेको बिषय सार्वजनिक भयो । बैंकसँग पहुँँच भएपछि आफन्तदेखि विभिन्न ब्यक्तिका नाममा ऋण निकाल्दै घरजग्गामा लगानी गर्दै अकूत पैसा कमाउन थालेपछि उनमा यति महत्वाकांक्षा बढ्यो कि उनी चर्चामा आउन फिल्म निर्मातासमेत बने । ‘जीवनरेखा’ र ‘ए पण्डित बाजे’लगायतका फिल्म समेत बनाए ।

    madhu 2.jpg

    मधुसुदन सिलवाललाई नियन्त्रणमा लिंदा उनको हुलिया यस्तो थियो 

    श्री गणेश जेन्टल फिल्मस नामक कम्पनी नै खोलेर चलचित्र निर्माणमा संलग्न सिलवाल निर्देशक र कलाकारहरुलाई राम्रो पारिश्रमिक दिने निर्मातामा गनिन्थे । चलचित्र निर्माता भए पनि उनलाई चलचित्र क्षेत्रको कुनै ज्ञान थिएन । उनी फिल्म निर्माणको क्षेत्रमा पैसा कमाउनका लागि भन्दा पनि राम्रा राम्रा केटीहरुसँग मोजमस्ती गर्न र पत्रपत्रिकामा फोटो छपाउनको लागि लागेका थिए । जीवनरेखामा उनले ७५ लाख लगानी गरेका थिए तर उनले सो फिल्मबाट १० लाखको हाराहारीमा मात्र लगानी उठाए । उनले बनाएका करिब आधा दर्जन फिल्ममध्ये एउटाले पनि आधा लगानी  उठाउन सकेका थिएनन् ।

    अवैध भीओआइपीमा सिलवाल

    साठीको दशकमा अन्तर्राष्ट्रिय कल चोरी गर्ने कार्य मौलाएको थियो । मधुसुदन सिलवालले पनि बंगलादेशीसँग मिलेर अवैध भीओआइपीको काम गरेको खुलेको छ । चलचित्रको दुनियाँमा छिरेपछि उनको मित्रता चतुर निर्देशक नारायण पुरीसँग भयो । पुरी र उनी मिलेर नयाँ बानेश्वरको एभरेष्ट होटलभन्दा पछिल्लो घरमा कार्यालय राखे । जुन कार्यालयमा कलाकार सुबी शाहले कुनैबेला रेष्टुरेन्ट समेत चलाएका थिए । त्यही घरमा बसेर निर्देशक पुरी र सिलवालले अन्तर्राष्ट्रिय कलचोरी(भीओआइपी)को धन्दा गरेका थिए । २ जना बंगलादेशी नागरिकसँग मिलेर सो काम गरेका उनीहरुले त्यसबाट अथाह कमाएका थिए ।

    सिलवालले भीओआइपीबाट अकूत कमाएको बिषयमा उजुरी परेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि उनीमाथि निगरानी बढाएको थियो । सिलवाल कल बाइपास काण्डमा जेल समेत परेर छुटेका थिए । त्यसबेला बंगलादेशी नागरिकसहित निर्देशक पुरी र निर्माता सिलवाल पनि प्रहरी छापामा पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले मुद्दा चलाएको भए पनि दुबैजना चलचित्र क्षेत्रका भएका कारण तत्कालीन संचार मन्त्रालयका सल्लाहकार एवं चलचित्रकर्मी शैलेश आचार्यले उनीहरुलाई छुटाइदिएका थिए । त्यसबेला सन्चारमन्त्री रहेका जयप्रकाश प्रसाद गुप्तालाई भनेर शैलेशले उनीहरुलाई छुटाइदिएका थिए ।

    अवैध भीओआइपी र विभिन्न ब्यक्तिका नाममा कमसल धितो राखी बैंक ठगी गरी अथाह पैसा कमाएका सिलवालले मोजमस्तीमा कसरी पैसा उडाए त ? पैसा धेरै भएपछि मोजमस्ती र चर्चाका लागि उनी फिल्म बनाउन थाले । उनको रवाफ यतिसम्म थियो कि भीओआइपीको आम्दानीबाट बनाएको बानेश्वरस्थित घरमा उनी प्रायः बैंकका सीईओहरुलाई बोलाई बैठक राख्थे । सीईओहरुको बैठकमा उनले आफ्ना लागि छुट्टै खालको विशेष कुर्सी राख्ने गरेका थिए । उनी विवाह वा कुनै पनि पार्टीमा जाँदा सुटअनुसार गाडी प्रयोग गर्थे । सुटमा म्याच हुनेगरी फेरी फेरी गाडी चढ्ने गर्थे । एकपटक पार्टीमा जाँदा प्रयोग गरेको गाडी भरिसक्य अर्को पटक नगर्ने उनको अनौठो सौख थियो ।

    अवैध भीओआइपीदेखि बैंक ठगी गरेका उनी धर्म गर्नका लागि हरेक बिहीबार पाटनको बंगलामुखी मन्दिरमा जाने गर्दथे । बगलामुखीमा बसेका करिब १ सयको हाराहारीका माग्नेलाई ५ सय रुपैयाँका दरले दान समेत गर्थे । तर पछिल्लो समय उनीसँग गाडी, घर र प्रेमिका कुनै चिज थिएन । उनी स्कुटर प्रयोग गरी निश्चित ठाउँमा लुुकीलुकी आवतजावत गर्ने गर्दथे ।

    सिलवालले आफन्तसमेत डुबाए

    गैरकानुनी भीओआइपीदेखि बैंकको कर्जा प्रवाहमा अनियमितता गरेका सिलवालले एकपछि अर्को वित्तीय अपराध गर्दै गए । पैसाले कानुन किन्न सकिने भन्दै भारतका चर्चित ठग नटवरलालकै शैली अपनाएर नेपालका बैंकबाट अति कमसल धितो राख्दै अन्धाधुन्द कर्जा प्रवाह गराउने कार्यलाई तीव्र गतिमा बढाए । तीव्र रफ्तारका साथ आर्थिक अपराधमा लागेका मधुसुदन सिलवालले आफन्तका नाममा समेत कमसल धितो राखी बैंकबाट करोडौं रुपैयाँ ऋण लिएका छन् । उनले आमा रामेश्वरी सिलवाल, पत्नी गिता र छोरा अस्मिनका नाममा समेत ऋण लिएका छन् । उनकी आमा रामेश्वरीका नाममा एकै दिनमा १० करोड निक्षेप आएको र एकै दिन १८ करोडसम्म झिकिएको रेकर्ड समेत फेलापरेको थियो । करोडौं रुपैंयाँ नगद नै भुक्तानी दिने कार्य शंकास्पद भएको भन्दै सम्पत्ति शुद्धिकरणले हेरेको थियो ।

    छानबिनका क्रममा सिलवालले श्रीमती र छोराको नाममा रहेको खाताको चेक समेत आफैले हस्ताक्षर गरेर चलाउने गरेको पाइएको थियो । सुन्धाराको गोश्वारा हुलाकमा काम गर्ने एक महिला सिलवालको गोप्य प्रेमिका रहेको र उनको नाममा समेत सिलवालले धेरै सम्पत्ति थुपारेको बिषयमा सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरेको थियो । सिलवालले आफन्तहरु साली, ज्वाई, ससुराली खलकका नाममा समेत ऋण लिएर उनीहरुलाई समेत डुबाइदिएका छन् ।

    यसरी भएको थियो कर्जामा अनियमितता

    मधु्सुदन सिलवाल सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक थिए । उनले किष्ट र सिनर्जी फाइनान्सका संचालकसँग मिलेर कर्जा प्रवाहमा अनियमितता गरेका थिए । सिलवालसहित तत्कालीन किष्ट बैंकका संचालक कमल ज्ञवाली र बीएन घर्तीसहितका ब्यक्ति मिलेमतोमा कर्जा प्रवाह गरेका थिए । कर्जाको अधिकांश रकम कार्यालय समय पछि साँझ ७–८ बजेको बीचमा भुक्तानी भएको थियो । सिलवालसहित ज्ञवालीले ४ वटा कम्पनीलाई प्रवाह गरेको करिब ५७ करोड कर्जा जोखिममा परेको थियो । जुन कर्जा अत्यन्तै कमसल धितो राखी प्रवाह गरिएको थियो ।

    सिलवालको समूहले श्रेया ट्रेडिङ कन्सर्न, जय शम्भु इन्टरप्राइजेज, रोशन राइस मिल र अशोकप्रभा शीतभण्डारको नाममा अनियमित रूपमा कर्जा प्रवाह गरेको थियो । दिनेशकुमार मिश्र, बबिता मिश्र र रूपादेवी भट्ट सञ्चालक रहेको श्रेया ट्रेडिङलाई ०६७ चैतमा पाँच करोड कर्जा प्रवाह भएको थियो । ब्याजसहितको ९ करोड ५७ लाख २१ हजार पुगेको थियो । सुनसरीको झुम्कास्थित नौ कट्ठा जग्गा कम्पनीमा रहेको स्टकका आधारमा सो कर्जा प्रवाह भएको थियो । कर्जाका लागि आसामीहरूको झुटो विवरण पेस भएको छानबिनमा खुलेको थियो । सो जग्गालाई मिलेमतोमा रोशन इन्जिनियरिङ कन्सल्टेन्सीले तीन करोड ३० लाख ७० हजारको मूल्यांकन गरेको थियो । तर, लिलामीको क्रममा अधिकतम ३० लाखको बोलपत्र परेको थियो ।

    काभ्रेका ज्ञानप्रसाद बस्ताकोटी सञ्चालक रहेको जय शम्भु इन्टरप्राइजेजलाई ९ करोड ५० लाख रुपैयाँ ओभरड्राफ्टका रूपमा कर्जा दिइएको थियो । ब्याजसहित सो कर्जा १४ करोड ३० लाख पुगेको थियो । सुनसरीको एकम्बामा रहेको जग्गा र दाङको नारायणपुरको जग्गा धितो राखेर सो कर्जा प्रवाह भएको थियो । जग्गाको ९ करोड मूल्यांकन गरिएको थियो । जब कि जग्गाको वास्तविक मूल्यांकनअनुसार ६९ लाख ३९ लाख मात्र मूल्य थियो । मिलेमतोमा ऋण नतिर्ने उद्देश्यले नै कर्जा प्रवाह गरिएको थियो ।

    कुलप्रसाद पोखरेल सञ्चालक रहेको रोशन राइस मिललाई १२ करोड ८० लाख कर्जा प्रवाह भएकोमा ब्याजसहित १६ करोड ७४ लाख पुगेको थियो । सो राइस मिलको अत्याधिक मूल्यांकन गरी कर्जा प्रवाह भएको थियो । सबै धितोको वास्तविक मूल्यांकमा ७६ लाख मात्र रहेकोमा करिब १८ करोड मूल्यांकन गरेर कर्जा दिइएको थियो । पक्राउ परेका ऋणी कुलप्रसादले आफ्नो नाममा कर्जा प्रवाह भए पनि कमल ज्ञवाली र उनका साथी मधुसुदन सिलवालले त्यसको प्रयोग गरेको बताएका थिए ।

    प्रमोदकुमार देव, अजयकुमार देव र अशोककुमार देव सञ्चालक रहेको अशोकप्रभा शीतभण्डारलाई ११ करोड ६५ लाख कर्जा प्रवाह भएको थियो । ब्याजसमेत जोडेर पछि १६ करोड ८२ लाख पुगेको थियो । ०६७ असोजमा सो कम्पनीको नाममा कर्जा प्रवाह भएको थियो । जग्गाको मात्र १३ करोड मूल्यांकन गरी कर्जा प्रवाह भएको थियो । पुनः मूल्यांकन गर्दा सो जग्गाको वास्तविक मूल्य २ करोड ६३ लाख भएको खुलेको थियो ।

    यसरी कर्जामा अनियमितता गरेका सिलवाललाई सीआइबीले अन्ततः पक्राउ गर्न सफल भएको छ । करिब ६ बर्षदेखि सीआइबीले उनलाई खोजी गरिरहेकोमा आइतबार नियन्त्रणमा लिन सफल भएको छ । उनी लुक्दै र ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै पक्राउ पर्नबाट जोगिने गरेका थिए । मास्क खोल्दै नखोल्ने र स्कुटरमा यात्रा गर्ने उनी आइतबार प्रहरीको नजरबाट भाग्न सकेनन्, फन्दामा परे ।
    डीआइजी सहकुल थापा सीआइबीको नेतृत्वमा पुगेपछि बैंकिङ कसुरमा फरार रहेका ठूला माछा सिलवाललाई पक्राउ गर्न सफल भएका छन् । सीआइबीमा गएपछि थापाले बैंकिङ ठगी लगायतका जघन्य अपराधीलाई कानुनी कठघरामा ल्याउने कार्यलाई प्राथमिकतामा राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार