काठमाडौं । पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा परिवारको अर्गानिकका नाममा लुट निरन्तर जारी रहेको छ । तर यसतर्फ सम्बन्धित निकाय मौन देखिएका छन् । यो पारिवारिक समूहले निरन्तर अर्गानिक एशोसिएसनका नाममा राज्यको सरकारी स्रोतको दोहन गरिरहेको खुलेको छ ।
व्यवसायिक कृषि र औद्योगिकरण अझ त्यसमा समर्पित भएकाहरुले राज्यबाट कुनै किसिमको सहुलियत र अनुदान पाउँदैनन् । साँच्चिकै कृषकले नपाउने तर ठगीखानेहरुले राज्यको स्रोत कृषिको नाममा लिएर ब्रम्हलुट गर्दैआएका छन् ।
ब्यवसायिक कृषि तथा ब्यापार आयोजना(प्याक्ट)को अरबौं रकम अनुदान लिनेहरुको अवस्था के छ ? त्यसको अनुगमन हुनसकेको छैन । पहुँच हुनेहरुले प्याक्टबाट बाख्रा, गाईदेखि बंगुरपालनका नाममा अनुदान लिए, तर ती बाख्रा, गाई र बंगुर कहाँ छन् ? प्याक्टका नाममा दिइएको दसौं अरब अनुदान कृषिको दीर्घकालीन विकास होइन, ब्रम्हलुट भएको तथ्य अनुगमनमा फेलापर्नेछ । यसरी कृषिका नाममा राज्यले बार्षिक अरबौं खर्चेको छ, तर त्यसको सदुपयोग हुन सकेको छैन ।
यसैक्रममा सम्बन्धित निकायमा पहुँच हुने घरानाहरुले राज्यको स्रोत र साधनको दोहन गरिरहेका छन् । सहकारी संघ नामक संस्थामा लामो समय अध्यक्ष रहेर विदेश भ्रमण लगायत बिभिन्न नाममा करोडौं रुपैयाँ अनियमितता गरेका बास्कोटाले अर्गानिक एशोसिएसनलाई पारिवारिक संस्था बनाएर प्रदर्शनी र विभिन्न शीर्षकमा पैसा लिएर दुरुपयोग गर्दैआएका छन् ।
कञ्चनजंघा टी–इस्टेट एण्ड रिसर्च सेन्टर जुन बाँस्कोटा ग्रुप अन्र्तगत रहेको कम्पनी छ । त्यसले वर्षेनी राज्यस्रोतको चरम दोहन गरिरहँदा सम्बन्धित निकाय मूकदर्शक भएको छ । यही परिवारले खडा गरेको अर्गानिक एशोसिएशन अफ नेपाल नामक सामाजिक संस्था छ । जुन झट्ट सुन्दा सामाजिक संस्था जस्तो लागे पनि नितान्त पारिवारिक कम्पनी जस्तो छ । यसमा दीपकप्रकाश बाँस्कोटा अध्यक्ष छन् भने उनका छोरी र ज्वाइँहरु कार्यसमितिमा छन् ।
बिडम्बना त के छ भने नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बर्षेनी लाखौं रुपैयाँ सहयोगका नाममा खन्याउने गरेको छ । त्यो सहयोग केन्द्रका कर्मचारी र बाँस्कोटा परिवारको संस्था मिलेर भागशान्ति गर्ने गरेका छन् । यही समूहले
ललितपुरको पाटन दरबार संग्राहलयमा चार दिने प्राङ्गारिक कृषि मेलाको आयोजना गर्दै आएको छ ।
न त्यहाँ मेला हेर्न र सामान खरिद गर्न सर्वसाधारण जान्छन् न त उनीहरुले मेलाको बारेमा पत्तो पाउँछन् । तर यो समूहले मेलामा स्टल राख्नेहरुसँग २५÷३० हजार असुल गर्ने र सरकारी अनुदान पनि आफंै झ्वाम पार्ने गरेको छ ।
विडम्बना त के छ भने सरकारी निकाय जसले सहयोगका नाममा यिनीहरुलाई लाखौं रुपैयाँ उपलब्ध गराउँछन् । तिनीहरुले एउटा परिवारलाई यत्रो रकम किन दिन्छन् अनुसन्धानको विषय बनेको छ ।
यसपटक पनि ललितपुरको पाटन दरबार संग्रहालयमा चार दिने प्राङ्गारिक कृषि मेलाको आयोजना गरिन लागेको छ । जुन नितान्त बाँस्कोटाको पारिवारिक संस्था हो ।
पाँचौं अर्गानिक कृषि मेला अर्गानिक एशोसिएशन अफ नेपाल र कञ्चनजंगा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल बैशाख १ गतेदेखि ४ गतेसम्म हुने भन्दै स्टल राख्नेहरुलाई यी परिवारका सदस्यहरुले ताकेता गरिरहेका छन् । जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वस्थ राख्नका लागि उत्पादनदेखि नै ध्यान दिन आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैविक र वैदिक हुनुपर्ने जनाइएको छ । जसको उपभोगबाट मानिस निरोगी हुन सकोस् भन्ने ठूला कुरा गर्ने यिनीहरु नितान्त कमाउधन्दामा लागेका छन् ।
चार दिनसम्म चल्ने मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहने संस्थाले नै जनाएको छ । त्यस्तै, स्टल बिक्रीबाट उठ्ने रकमबाट मेला सञ्चालन गरिने पनि बताइएको छ । कञ्चनजंघा टि–इस्टेट एण्ड रिर्सच सेन्टर तथा अर्गानिक नेपाल एशोेसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा आफैं छन् ।
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका लागि मेलाको आयोजना गर्न लागिएको यिनीहरु बताउँछन् । तर यो पाराले यिनीहरु नै आत्मनिर्भर मात्र होइन लुटेरा बनिरहेको आरोप छ । सरकारले अहिले १२-१३ अर्ब खर्च गरेर फर्टिलाइजर ल्याउँदैछ, त्यो रकम कृषिमा खर्च गरेमा नेपाल कृषिमा निर्भर हुनसक्छ । २-३ वर्ष पनि लाग्दैन । कृषिलाई आत्मनिर्भर बनाउन सक्छौं । यो मल उत्पादन भएमा हामीले केमिकल्स विषादी ल्याउन पर्दैन भनेर आदर्श पनि छाँट्छन् ।
अर्गानिक एशोसिएसनका महासचिव उनै बाँस्कोटाकी छोरी शान्ता बाँस्कोटा कोइराला मेला संयोजक पनि छन् । कोइरालाले मेलामा ५० भन्दा बढी स्टल राख्ने र ३० लाख खर्च अनुमान रहेको बताउँदै एक करोडको कारोबार हुने अपेक्षा संस्थाले राखेको बताउँछिन् । जुन रकम यिनीहरुले नै दोहन गर्ने गरेका छन् ।
मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गरिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु फलफुल, बिउ, विजन, मह, तेल, राडी, पाखीलगायतका अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य व्यापारसम्बन्धी प्रोजेक्टहरु राखिने बताइएको छ ।
यही मेला अर्की छोरी समिक्षा बाँस्कोटाले गरेकी थिइन् । उनले पाँचौ अर्गानिक मेलामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क प्रवेश गर्न सकिने जानकारी दिइन् । यो मेलामा न अवलोकनकर्ता आउँछन्, न त सर्वसाधारणले नै पत्तो पाउँछन्, केबल सरकारी पैसा पचाउनका लागि मिलेमतोमा बाँस्कोटा परिवारले खानका लागि गरेको आरोप छ ।
अर्गानिक एशोसिएसनमा बाँस्कोटा परिवारकै रजाइँ छ । उनीहरुले अर्गानिक एशोसिएसनका नाममा बाँसकोटा परिवारका नाममा भएका अनियमितता र लुटका घटनाका सम्बन्धमा अध्यक्ष दीपकप्रकाश बास्कोटासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनको मोबाइल उठेन ।