Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोटाङका नगरपालिकाले दियो २० आमा समूहलाई एक लाखका दरले बीउ पुँजी


    शनिबार, चैत्र २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई नगरपालिकाले बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा एक लाखका दरले रकम उपलव्ध गराएको हो । नगरपालिकाले गत वर्ष नियमित बचत गर्दैआएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो । 

    स्थापना कालदेखि हालसम्म जनही मासिक ५ रुपैयाँदेखि ५० रुपैयाँका दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्नेगरी बीउ पुँजी रकम थप गरिदिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन् ।

    नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८-०७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत  बीउ पुँजी उपलव्ध गराइएको हो । 

    ११ वडा रहेको नगरपालिकामा हाल १ सय ५ वटा आमा समूह छन् । त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आवद्ध भएको र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियासिल रहेको समूहलाई छनोट गरेर बीउ पुँजी रकम प्रदान गरेको हो ।

    नगरपालिकाले उपलव्ध गराएको एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको व्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बीउ पुँजी लिएपछि बाख्रा, बंगुर, तरकारी खेती लगायतका व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने शर्त छ । 

    समूहबाट ऋण लिने व्यक्तिले ९ महिनादेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र व्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको उपमेयर राईले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार