Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल प्रहरीमा आइजीपी नहुँदै पोखरेलको सेटिङ, कर्मचारी प्रशासनमा ढकाल, प्रबन्धमा थापा  


    बिहिबार, चैत्र २४ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको मानवस्रोत तथा प्रशासन बिभागका एआइजी विश्वराज पोखरेलले आफू आइजीपी नहुँदै आकर्षक ठाउँहरुमा आफ्ना निकट र विश्वासिला अधिकृतहरुलाई सेट गरेका छन् । उनी काठमाडौं प्रहरी परिसरको इन्चार्ज(एसएसपी) हुँदा मुद्दा फाँट प्रमुख रहेका मोहन थापालाई प्रबन्ध निर्देशनालयमा दरबन्दी कायम गरेका छन् ।

    हालैको डीएसपी सरुवामा थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रबन्धमा सरुवा गरिएको छ । 
    डीएसपी थापा काठमाडौं परिसरबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा सरुवा भएका थिए । सुपारीको कारोबार हुने भएकाले बिर्तामोड पनि आकर्षक मानिन्छ । बिर्तामोडमा हुँदा झापा नै घर भएका अख्तियारका तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेसँग कनेक्सन मिलाएर पोखरेलले उनलाई आयोगमा सरुवा गराएका थिए । अहिले आयोगबाट प्रबन्धमा सरुवा गराएका छन् । प्रबन्धमा सरुवा गराए पनि उनले अहिलेसम्म रमाना बुझेर हाजिर भएका छैनन् ।

    विश्व पोखरेल आइजीपी भएपछि हाजिर हुनेगरी उनी अहिले हप्तामा तीन दिन प्रबन्धमा आएर एसपी प्रेम बस्नेत र डीएसपी पर्शुराम मल्लसँग खरिद प्रक्रियाका बारेमा सिकिरहेका छन् । स्रोतका अनुसार दरबन्दी भइसकेपछि रमाना लिएर आउनुपर्नेमा अख्तियारमै कार्यरत रहेर हप्तामा ३ दिन आउने र प्रबन्धमा सिक्ने गर्दछन् । उनी हप्तामा ३ दिन अपराह्न ३ बजेदेखि ६ बजेसम्म प्रबन्धमा बस्ने गर्दछन् । 

    आइजीपी नहुँदै पोखरेलले प्रबन्धमा थापालाई सेटिङ गरिसकेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अख्तियारका तत्कालीन प्रमुख आयुक्तको चर्को दबाबमा डीआइजी र एआइजीमा आफ्ना ब्याचीभन्दा अगाडि बढुवा भएका पोखरेललाई आइजीपी बनाउनेबारेमा कांग्रेसभित्रै चर्को अन्तरबिरोध छ । तर उनी भने आइजीपी नियुक्ति नहुँदै आफ्ना विश्वासपात्रहरु खरिद हेर्ने प्रबन्ध र सरुवा गर्ने कर्मचारी प्रशासनजस्ता निकायमा सेट गर्न तल्लीन छन् ।  

     प्रबन्ध निर्देशनालयमा डीआइजीपछि एसपीको दरबन्दी यूएनमा राखी मोहन थापालाई नै सबै जिम्मा दिनका लागि सेट गरिएको छ । पोखरेल आगामी बैशाख १९ गते आइजीपी भएपछि थापा प्रबन्धमा हाजिर हुनेगरी सेट गरिएको छ । 
    महानगरीय प्रहरी गण (साबिक २ नं. गण) का एसपी रेवती ढकाल एआइजी पोखरेलका आफन्त हुन् । पोखरेलले उनलाई प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको प्रमुखमा ल्याउँदैछन् । पोखरेल कर्मचारी प्रशासनको प्रमुख हुँदा ढकाललाई पर्साको एसपीमा पठाएका थिए । तर उनी त्यहाँ सफल हुन नसेकी फर्किएका हुन् । पोखरेल काठमाडौं परिसरको इन्चार्ज हुँदा ढकाललाई उनको ट्वाइसी बनाए । ढकाल बानेश्वर बृत्तको पनि प्रमुख भएका थिए ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार