Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्ताङ र म्याग्दी जोड्ने सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने


    बुधबार, चैत्र २३ २०७८
    420
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मुस्ताङ । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ। 

    जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिक रूपमा सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । 

    सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो।

    हाल तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ।

    सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

    एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक सवारी साधनका हकमा सहजीकरण गरिने छ।

    मालढुंगा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ। एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए। 

    कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।

    विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दैआएको छ।

    विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको सडक २०५२ मा सञ्चालनमा आएको हो । विसं २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार