Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीलंका संकट : विदेशी मुद्रा अभावले निम्त्यायो ‘संकटकाल’, हिंसात्मक प्रदर्शन बढ्दै


    शनिबार, चैत्र १९ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । श्रीलंकामा यतिखेर विदेशी मुद्राको चरम अभावले अर्थतन्त्र चौपट परेको छ । सोही संकटका कारण त्यहाँ अहिले देशव्यापी ‘संकटकाल’ घोषणा गरिएको छ ।

    विदेशी मुद्राको चरम अभावका कारण त्यहाँको महंगी असाध्यै बढेको छ । साथै इन्धन र बिजुलीबत्तीको समेत अभाव भएपछि नागरिकहरु समेत आन्दोलित भएका छन् । सरकारले आजदेखि लागू हुने गरी देशैभरि संकटकाल घोषणा गरेको छ ।

    महंगी, अभाव र अस्तव्यस्तता बढेपछि श्रीलंकामा हिंसात्मक आन्दोलन चर्किएको छ । त्यहाँ इन्धन, कागज, औषधि तथा अत्यावश्यक खानेकुरा समेतको अभाव भएको छ । कागज अभावकै कारण त्यहाँ लाखौँ विद्यार्थीको परीक्षा रोकिएको छ । विदेशबाट आयात हुने वस्तुहरुका लागि विदेशी मुद्रा अभाव भएपछि त्यहाँको अर्थतन्त्रमा संकट आएको हो ।

    यस्तो संकटले नागरिकस्तरमा सरकारप्रति आक्रोश बढ्दै गएको छ । बिहीबार राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । शुक्रबार समेत प्रदर्शन जारी थियो । तर प्रहरीले कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । सो प्रदर्शनका क्रममा झडपहरु भएका छन् ।

    संकटकाल घोषणा भएसँगै अब हिंसात्मक प्रदर्शनमा संलग्न जोकोहीलाई वारेन्टविना नै पक्राउ गर्न आदेश भएको बिबिसीले जनाएको छ ।

    अहिले श्रीलंकामा मूलतः उर्जा संकट चुलिएको छ । दैनिक १३ घण्टासम्म लोडसेडिङ बढेको छ । पेट्रोल, ग्यासको पनि अभाव चर्किएको छ भने दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ । सामान किन्नका लागि समेत पसलहरूमा जनताको लामो लाइन लागेको छ । वस्तुमा कोटा निर्धारण गरिएकोले मागअनुसार पाइरहेका छैनन् ।

    श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत पर्यटन रहेको र कोरोना महामारीका कारण समेत यो क्षेत्र संकटमा पर्दा साथै विदेशी ऋणको ठूलो किस्ता तिरिरहनुपर्ने लगायत कारणले त्यहाँ अर्थसंकट निम्तिएको जानकारहरु बताउँछन् । हुन त सन् २०१५–१६ पछि नै आतंकवादका कारण श्रीलंकामा पर्यटकहरुको आवागमन घट्न थालेको थियो भने पछिल्लो समय कोरोना महामारीका कारण समेत थप संकट आयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार