काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाबिरुद्ध ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लिखु तामाकोशी गाउँपालिकाको वडा नं १ को दुरागाउँ र ५ को नागदहमा बिद्युतीकरण गर्न विद्युतीय सामान खरिद गर्दा खरिद समिति नबनाई टेण्डर तथा सूचना जारी नगरी आफू अनुकूलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक जाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको उजुरीमा अख्तियारले छानबिन गरेको थियो ।
आर्थिक बर्ष २०७४–०७५ र ०७५–०७६ मा वडा नम्बर ५ को नागदह, वडा नम्बर ४ को बिजुलीकोट केन्द्रीय प्रशारण लाइनको वरपरका बस्तीहरु समेतमा विद्युतीकरण योजनाहरु कार्यान्वयन गर्दा गाउँपालिका अध्यक्ष खड्कासहितका प्रमुख प्रशासकीय अधिकृतहरुको मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ पुर्याउने र सरकारी रकममा हानीनोक्सानी पुर्याउने बदनियतले कार्य अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरी अनियमितता गरेको विशेष अदालतमा दर्ता भएको आरोपपत्रमा उल्लेख छ ।
लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंबिरुद्ध पनि मुद्दा दायर गरिएको छ । न्यौपानेसँग १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ ९ पैसा बिगो दाबी गरिएको छ । चौलागाईसँग ३ करोड ८१ लाख १८ हजार ५२८ रुपैयाँ १५ पैसा बिगो दाबी गरिएको छ । उपभोक्ता समितिहरुको लागि समानहरु लागत अनुमानको मूल्यभन्दा अस्वभाविक रुपमा बढी मूल्य तिरी आवश्यक पर्नेभन्दा अस्वभाविक रुपमा बढी सामान खरिद गरी ढुवानी गराई सामानको प्राप्ती, खर्च र बाँकीको अभिलेख समेत नराखी उपभोक्ता समितिहरुले जिम्मा लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
गाउँपालिकाका तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङ, काजीबाबु थापा, बुद्धिबहादुर तामाङ, प्रचण्ड सुुनुवार घन्टिकादेवी सुनुवार, होमबहादुर महत, बेतबहादुर पुँवार, ममिता श्रेष्ठ र सुब्बा थापामगर, मेनुका खड्का, काजीबाबु थापाबिरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का एमालेबाट निर्वाचित भएका हुन् । राप्रपाबाट एमालेमा ल्याई उनलाई गाउँपालिका अध्यक्ष बनाइएको थियो । तर उनी अध्यक्ष निर्वाचित भएकै दिनदेखि विवादमा पर्दैआएका छन् । उनीमाथि गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल र वडा नम्बर ५ का अध्यक्ष सुवास बोहराका बिरुद्ध झुटा कर्तब्यज्यानको मुद्दा दिएर दुःख दिएको आरोप छ ।
उनीमाथि गाउँपालिकामै कार्यरत एक महिला कर्मचारीले यौन दुब्यर्वहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । तर अदालत सेटिङ गरी उनी जेलमुक्त भएका थिए । अनुशासनहीन र गाउँपालिकाको बजेट दुरुपयोग गर्ने उनलाई एमालेले कारबाही गरेपछि नेपाली कांग्रेसमा प्रवेश गरी पुनः गाउँपालिका अध्यक्षको टिकट लिने दाउमा लागेका खड्काबिरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका छन् । मुद्दा दर्ता भएकै दिनबाट उनी स्वतः निलम्बन भएका छन् । उनी अब पुनः गाउँपालिका अध्यक्षको उम्मेदवारसमेत हुन पाउनेछैनन् । बाँँकी ४० दिन कार्यकाल उपाध्यक्ष दिपशिखा दाहालले अध्यक्षको कामकाज गर्नेछिन् ।