काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले कानुनी प्रक्रिया छलेर २ करोड २९ लाखको बरामद चेक आरोपीलाई नै फिर्ता दिएकाे भन्दै कारबाही गर्न सिफारिस गरेकाे छ ।
उक्त घटना छानविन गर्न २०७८ पुस १३ मा गठित समितिले अनुसन्धानकाे प्रतिवेदन बुझाउँदै एसएसपी सिंहले आचरण विपरित त्रुटिपूर्ण काम गरेको ठहर गर्दै कारबाही गर्न सिफारिस गरेकाे हाे ।
अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमारलाल कर्ण नेतृत्वको समितिले छानविन पुरा गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हाे ।
असोज २५ मा काठमाडौं प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौंको चेक बरामद गरेको थियो । सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिएपनि एसएसपी अशोक सिंहले करिब ३ महिना आफुसँगै राखेर सो चेक भेटवाललाई फिर्ता दिएका थिए ।
प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि बरामद गरेको थियो । जुवा खेलेको र खेलाएको फुटेज भएपनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्विकार गरेर लामो समय चेक आफैंसँग राखेका थिए ।