काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ ।
वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारी छ । विदेशी वायुसेवाले पहिलो पटक उक्त विमानस्थलमा व्यावसायिक उडान थाल्ने प्रस्ताव गरेको हो ।
‘जजिराले कुवेत–भैरहवा–कुवेत दैनिक उडानको प्रस्ताव गरेको छ, भैरहवा विमानस्थलमा उडान गर्न जजिराबाहेक अन्य विदेशी वायुसेवाबाट प्रस्ताव आएको छैन,’ प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्णले भने ।
जजिराले अहिले कुवेत–काठमाडौं रुटमा १७४ सिटको एयरबस–३२० मार्फत दैनिक उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूका अनुसार करिब साढे ५ घण्टाको हवाई दूरी भएको कुवेत–काठमाडौं अत्यधिक श्रमिक ओहोरदोहोर गर्ने नाफाको रुटमा पर्छ । नेपाल सरकारले १६ वर्षअघि कुवेतसँग हवाई सम्झौता गरेको थियो ।
अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षण गर्न सरकारले तयारी पनि थालेको छ । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार प्राधिकरणले पहिलो ६ महिनासम्म ल्यान्डिङ, पार्किङ शुल्कमा पूर्ण छुट दिने र दोस्रो ६ महिनासम्म ५० प्रतिशत मात्रै शुल्क लिने व्यवस्थासहित मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । यसबारे सरकारको निर्णय सार्वजनिक भइसकेको छैन । कान्तिपुर दैनिकबाट