Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीमा देखिए कालाजारका बिरामी


    आइतबार, फाल्गुन २९ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीमा कालाजारका बिरामी भेटिएका छन्।

    दोगडाकेदार गाउँपालिका-५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।

    धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको हो।

    जोशीका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको सम्पर्कमा रहेकाको परीक्षण गरिएको छ। 

    ‘कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमूना सङ्कलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २१ जनाको नमूना सङ्कलन गरेर परीक्षण गरेका छौं ’,जोशीले भने। 

    स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयवासीको कालाजार परीक्षण गरेको हो। जोशीका अनुसार नमूना सङ्कलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

    समुदायका अन्य व्यक्तिमा पनि कालाजारको सङ्क्रमण हुनसक्ने भएकाले परीक्षण गरिएको हो।

    नमूना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कालाजार भएनभएको रगत परीक्षणबाट थाहा हुन्छ।

    कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको सङ्क्रमण हुने, तौल घट्ने, थकान महसुस हुने, रक्तअल्पता हुनेलगायतका लक्षण देखा पर्दछन्। 

    कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग हो।

    रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ। लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो। यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

    यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार