Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भिजिट भिसामा कामदार पठाउने क्रम सुरु, प्रतिकामदार ४ लाखसम्मको घुस कारोबार


    शनिबार, फाल्गुन २८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने क्रम रोकिएको छैन । सरकारले भिजिट भिसामा पठाउन कडाई गरे पनि प्रतिब्यक्ति ४ लाखसम्म लिएर भिजिट भिसामा पठाउने कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीबाट हुँदैआएको छ । 
    म्यानपावर र अध्यागमनका कर्मचारीको सेटिङ भएपछि बिहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएईको दुबईमा कामदार पठाउन लागिएको छ ।

     आज(शनिबार) बिहानकोे फ्लाइटबाट १ सय जनाभन्दा बढीलाई भिजिट भिसामा युएईको दुबई पठाउनेगरी अध्यागमनका कर्मचारीले सेटिङ गरिसकेका छन् । आजै साँझ ६.३० बजे फ्लाई दुबईको फ्लाइटबाट १ सय भन्दा बढीलाई दुबईमा भिजिट भिसामा पठाउनका लागि गोंगबुमा रहेको प्रोटेक नेपाल इम्प्लोइमेन्ट प्रालिका संचालक बलभद्र ढकालले गरेका छन् । उनले बिहीबार र शुक्रबार २ सयभन्दा बढी कामदार अध्यागमनका कर्मचारीसँग सेटिङ गरी भिजिट भिसामा यूएईको दुबई पठाइसकेको स्रोत बताउँछ ।

     

    प्रोटेक नेपालका संचालक  ढकालले आज भिजिट भिसामा पठाउन लागेका नेपालीहरुमध्ये केहीको नाम नै नेपालफेसलाई प्राप्त भएको छ । आज भिजिट भिसामा दुबई जान लागेकाहरुमा म्याग्दीका गणेश सिउथानी, लोकेन्द्र रोका, आशा घर्तिमगर, लेखनाथ घर्तिमगर, तारा तिलिजा पुन, आशा पाइजा पुन लगायतका कामदार छन् ।

    सरकारले भिजिट भिसामा पठाउन कडाइ गरेपछि घुसको दररेट अध्यागमनका कर्मचारीले ह्वात्तै बढाएका छन् । २०७८ असोजदेखि माघको पहिलो हप्तासम्म भिजिट भिसामा जाने नेपाली कामदार महिलाले ५० हजार र पुरुषले २५ हजार रुपैयाँ घुस दिएर जाने गरेका थिए । भिजिट भिसामा ४० हजार नेपाली युवाहरु दुबईमा पुगेको र तीमध्ये अधिकांशले कामसमेत नपाएर अलपत्र परेको बिषय उजागर भएपछि गृहमन्त्रालयले गएको माघ ११ गते गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।  

    भिजिट भिसासम्बन्धी पोखरेल संयोजकत्वको अध्ययन समितिले न्यूनतम वार्षिक आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख भएकालाई मात्र घुम्न विदेश जाने गरी कार्यविधि बनाउन सिफारिस गरेको थियो । मानवतस्करी बढेपछि सरकारले यससम्बन्धी नयाँ कार्यविधि बनाई यसमा कडाइ गर्न खोजेको थियो । तर १० लाख रुपैयाँ बार्षिक आम्दानीको ब्यवस्था लागू गरेको केही दिनमै सरकारले पुनः संशोधन गरी ५ लाख मात्र आय भएकाले जान पाउने बाटो खुला गरेको छ ।

    Untitled-1.jpg
    भिजिट भिसामा जान लागेका ब्यक्तिको राहदानी र पठाउने म्यानपावर कम्पनी

    त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता खेमराज उपाध्यायले गृहमन्त्रालयले दिएको १७ बुँदे निर्देशन अनुसार पठाउनैपर्ने बताए । उनले भने–‘५ लाखको कर तिरेको आय देखाउनेलाई हामीले पठाउनुपर्छ ।’

    केही दिनदेखि प्रोटेक म्यानपावरका बलभद्र ढकालले अध्यागमनका कर्मचारीसँग प्रतिब्यक्ति ४ लाख रुपैयाँसम्म घुसको सेटिङ गरी भिजिट भिसामा पठाइएको र आज पठाउन लागिएकाहरुको नामावली नै प्राप्त भएकोबारेमा उनले भने–‘१७ बुँदे मापदण्डका आधारमा आएमा कामदार नै भए पनि हामीले रोक्न सक्दैनौं ।’  

    प्रोटेक म्यानपावरका संचालक ढकालले भने–‘मैले भिजिट भिसामा कामदार पठाएको छैन । अस्वस्थ भएर आराम गरिरहेको छु ।’

    त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका संचालक कोमल उपाध्यायले गएको असोजदेखि माघसम्म प्रतिब्यक्ति ८ लाख रुपैयाँसम्म लिएर नेपाली युवाहरुलाई भिजिट भिसामा लगी दुबईमा अलपत्र पारेका थिए । अहिले त्यो कार्य प्रोटेक म्यानपावरका बलभद्र ढकालले गर्न सुरु गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार