काठमाडौँ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले महाभियोग सिफारिस समिति गठन गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव अघि बढाउने बाटो खुलेको छ ।
सत्ता गठबन्धनका ९८ सांसदले हस्ताक्षर गरी फागुन १ मा संसद् सचिवालयमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भए पनि समिति गठन नभएकै कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । कुनै व्यक्तिविरुद्ध महाभियोग प्रस्ताव पेस गर्ने आधार र कारण आवश्यक भए/नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रतिनिधिसभामा महाभियोग सिफारिस समिति गठन गरिने संवैधानिक प्रावधान छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकमा दलहरूबीच समिति गठन गर्न सहमति भएपछि सभामुख अग्निप्रसाद सापकोटाले ११ जनाको नाम पेस गरेका हुन् ।
समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन् । त्यस्तै कांग्रेसका मीनबहादुर विक र रामबहादुर विष्ट, माओवादीका यशोदा सुवेदी र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, लोसपाका एकवाल मियाँ र जसपाका प्रमोद साह छन् । यीमध्येबाट एक जना सभापति चयन हुनेछन् । कान्तिपुर दैनिकमा खबर छ।