Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिति : एउटै पदमा १२ वर्ष


    सोमबार, फाल्गुन २३ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उप–सचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन् । बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन् ।

    वर्षौंसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरूले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन् । तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताउनुभएको छ । तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप–सचिवसम्मका दर्जनांै कर्मचारी बढुवा हुनबाट वञ्चित भएको बताएको छ । एक उप–सचिवले भने– ‘आफूसँगै निजामती र प्रशासन सेवामा काम गरेका साथीहरू सहसचिव भइसकेका छन् । आफू भने १२ वर्षदेखि उप–सचिवमै बस्न बाध्य छु ।’

    करिब ७ वर्षदेखि सदस्य सचिवको जिम्मेवारी सम्हालेका सहसचिव अर्याल हाल बढुवा हुन नसकेका उप–सचिव गोविन्द खनियासँगै २०५३ साल पुस २ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को सेवामा प्रवेश गर्नुभएको हो । उहाँसँगैका कर्मचारी गोविन्द खनिया अहिले पनि उपसचिवमै थन्किनुभएको छ । एक उप–सचिवले गुनासो पोखे–‘हामी १२ देखि १७ वर्षसम्म एउटै पदमा काम गर्न बाध्य भएका छौं । न बढुवा हुन्छ न त काम गर्ने अवसर नै पाइन्छ।’

    यसअघिका रापबोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल र सदस्य सचिव अर्यालले केही उप–सचिवलाई सहसचिवमा बढुवा गर्ने आशा देखाउनुभएको थियो। तर बढुवाको विषयमा उहाँहरूबाटै पहल नभएको एक उपसचिवको भनाइ छ । सदस्य सचिवले मन्त्रालयसँग समन्वय नगरेकै कारण समस्या परेको अधिकांश पीडित कर्मचारीको गुनासो छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार