काठमाडौं । वैष्णव साधना र द्वैताद्वैत दर्शनको संरक्षण र सम्बर्द्धन गर्दै सम्प्रदायद्वारा प्रतिपादित आध्यात्मिक साधनालाई संस्थागत गर्ने उद्देश्य लिई स्थापना भएको श्रीनिम्बार्क वैष्णव परिषद् नेपालले आफ्नो पाँचौं केन्द्रीय महाधिवेशनमा गर्ने भएको छ ।
यहि २०७८ चैत्र ६, ७ र ८ गते श्रीकृष्णागण्डकीको पावनतट केलादीघाटमा अवस्थित श्रीराधादामोदर मन्दिरमा हुने उक्त महाधिवेशनले आगामी चारवर्षको लागि केन्द्रीय कार्य समितिको गठन गर्नेछ ।
उक्त संस्थाले एक विज्ञप्ति जारी गर्दै यहि महाधिवेशनबाट आगामी चारवर्षको लागि संस्थागत नीति तथा कार्यक्रमसहितको योजना निर्माण गर्ने समेत जानककारी दिएकाे छ ।
हेर्नुहाेस् यस्ताे छ जारी विज्ञप्ति
परमादरणीय भगवच्चरणानुरागी सज्जन महानुभावहरू ! अनादि वैदिक सत्सम्प्रदायका रूपमा प्रतिष्ठित स्वाभाविक द्वैताद्वैत दर्शनका प्रतिपादक सुदर्शनावतार आद्य जगद्गुरु भगवान् श्रीनिम्बार्काचार्य हुनुहुन्छ । उहाँद्वारा प्रवर्तित सत्सम्प्रदायका अनुयायी साधकहरूलाई नेपालमा पनि युगानुकूल रूपमा संगठित गरी निम्बार्क वैष्णव साधना र व्दैताद्वैत दर्शनको संरक्षण, सम्बर्द्धन गर्दै यस सम्प्रदायद्वारा प्रतिपादित आध्यात्मिक साधनालाई संस्थागत गर्ने उद्देश्य लिई श्रीनिम्बार्क वैष्णव परिषद् नेपालको स्थापना भएको हो ।

वैदिक सनातन धर्मका विभिन्न शाखा एवं सम्प्रदायसँग सामञ्जस्य राखी ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः..’ को भाव पुनर्जागृत गराउँदै वैष्णव भक्तिसाधना र भेदाभेद दर्शनको पृष्ठभूमिमा धार्मिक, सांस्कृतिक र आध्यात्मिक जागरण ल्याउन नितान्त आवश्यक भएको छ । त्यसैले वैदिक धर्मसंस्कार किंवा संस्कृतिप्रति निष्ठावान्, परोपकारशील र जनहितप्रति प्रेरित समाज सिर्जनाका निम्ति पनि शान्ति, सद्भाव र भातृत्व अभिवृद्धि गर्दै वैष्णव संस्कृतिको विकास, संरक्षण र सम्बर्द्धनमा सहयोग पुयाउनु हामी सबैको साझा कर्तव्य हुन आउँछ । यस संस्थाको आयोजनामा वैदिक सनातन निम्बार्क वैष्णव सम्प्रदाय किंवा वैदिक सनातन धर्मानुयायीहरूको आस्था, विश्वास र भरोसाको केन्द्र श्रीकृष्णा-गण्डकीको पावनतटमा अवस्थित श्रीराधा-दामोदर मन्दिर वैष्णवतीर्थ केलादीघाटमा निम्न स्थान र समयमा सम्पन्न हुन गइरहेको श्रीनिम्बार्क वैष्णव परिषद् नेपालको पाँचौं केन्द्रीय महाधिवेशनमा सम्पूर्ण वैदिक सनातन धर्मानुयायी भगवच्चरणानुरागी महानुभावहरूलाई सादर आमन्त्रण एवं हार्दिक स्वागत गर्दछौँ ।

उक्त अवसरमा सपरिवार समुपस्थिति भई कार्यक्रमको गरिमा किंवा शोभा बढाइदिनु हुन स्वाभाविक भेदाभेद दर्शन र निदिध्यासन प्रधान उपासना पद्धतिका अनुयायीहरूको साझा संस्था श्रीनिम्बार्क वैष्णव परिषद् नेपालको तर्फबाट हामी सादर अनुरोध गर्दछौँ ।
निम्बार्क वैष्णव सम्प्रदाय सर्वप्राचीन वैदिक सनातन सत्सम्प्रदाय हो । यसका प्रवर्तक आद्य जगद्गुरु श्रीनिम्बाकाचार्य हुनुहुन्छ । उहाँ स्वयं भगवान् विष्णुका करकमलमा विराजमान चक्रराज सुदर्शनका अवतार हुनुहुन्छ । द्वापरान्तमा भगवान् श्रीकृष्णको आज्ञाले धर्मको उद्धार गर्नका लागि उहाँ नै अरुण मुनि र जयन्ती देवीका पुत्र (नियमानन्द) का रूपमा प्रकट हुनुभएको हो । यस सम्बन्धमा भविष्य पुराणमा भनिएको छ — ‘सुदर्शनो द्वापरान्ते कृष्णाज्ञाप्तो जनिष्यति, निम्बादित्य इति ख्यातो धर्मग्लानिं हरिष्यति । सूर्यावसानसमये मेषलग्ने निशामुखे, जयन्त्यां जयरूपिण्यां जजान जगदीश्वरः ।’ देवर्षि नारदका शिष्य बालतपस्वी नियमानन्दले तपस्याका क्रममा परीक्षार्थ साँझमा आएका दिवाभोजी सन्यासीहरूलाई रात्रिमा निम्बवृक्षमा अर्क (सूर्य) देखाएर अतिथि सत्कार गर्नु भयो । फलस्वरूप उहाँ श्रीनिम्बार्काचार्य नामले विख्यात एक महान् वेदज्ञ धर्माचार्य हुनुभयो ।

श्रीनिम्बाकाचार्यबाट प्रवर्तित वैष्णव सम्प्रदाय नै निम्बार्क सम्प्रदाय हो । वेद, उपषिद्, ब्रह्मसूत्र, स्मृति, पुराणादि सम्मत सर्वसमन्वयपरक स्वाभाविक द्वैताद्वैत दर्शन नै निम्बार्क दर्शन हो । उहाँ नै निदिध्यासन (ध्यान-धारणा) प्रधान उपासना पद्धतिका आचार्य शिरोमणि हुनुहुन्छ । श्रीनिम्बार्काचार्यले नै वेदादि सत्शास्त्र प्रतिपादित सर्वसमन्वयपरक स्वाभाविक भेदाभेद दर्शन र प्रेमलक्षणा पराभक्तिको शाश्वत् धारा प्रवाहित गराउनु भएको हो । आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यले जुन दार्शनिक सिद्धान्त र उपासना पद्धतिको प्रतिपादन गर्नुभएको छ त्यो सनातनदेखि चलिआएको अनादि वैदिक एवं शाश्वत् छ । यसमा ब्रह्म किंवा भगवान् पदवाच्य श्रीराधाकृष्ण युगलतत्त्वलाई उपास्यका रूपमा मानिन्छ । यो दर्शन र उपासना पद्धति सर्वाङ्गपूर्ण, सर्वप्राचीन अनि विश्वप्रसिद्ध छ । यस सम्प्रदायका वर्तमान जगद्गुरु श्रीनिम्बार्काचार्य पीठाधीश्वर श्रीश्रीजी श्रीश्यामशरण देवाचार्यजी महाराज (निम्बार्कतीर्थ राजस्थान) हुनुहुन्छ । आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यका शिष्य-प्रशिष्य परम्पराको ५० औँ क्रममा गद्दीनसीन हाम्रा प्रातः स्मरणीय सार्वभौमाचार्य वैष्णवभूषण गोलोकवासी श्रीभगवत् शरण देवाचार्यजी हुनुहुन्छ । आध्यात्मिक कर्णधार गोलोकवासी श्रीभगवच्छरणशरण महाराजजीले नै सर्वप्रथम श्रीकृष्णा-गण्डकीको यही पावनतटबाट नेपालमा निदिध्यासन (ध्यान-धारणा) प्रधान भागवत\वैष्णव (अहिंसा) धर्मको व्यापक प्रचार प्रारम्भ गर्नुभएको हो ।

सम्प्रदायरत्न भागवतभूषण श्रीमहाराजजीद्वारा स्थापित एवं उहाँका शिष्य-प्रशिष्यद्वारा सञ्चालित श्रीराधादामोदर मन्दिर (नेपाल निम्बार्क पीठ) केलादीघाट नै निम्बार्क वैष्णव सम्प्रदायका अनुयायीहरूको आस्था, भरोसा र विश्वासको प्रमुख केन्द्र किंवा मूल आधार हो । यसले हामी सबै वैदिक सनातन धर्मानुयायीहरूको गौरव बढाएको छ, विशेषतः हामीलाई पारमार्थिक चिन्तनतर्फ उन्मुख हुन थप अभिप्रेरित गरिरहेको छ । तसर्थ हामीले परस्परमा सद्भाव, भातृत्व र मित्रता कायम गरी वैदिक सनातन वैष्णवधर्म-संस्कृतिको संरक्षण र संवर्धनमा विशेष ध्यान दिनु पर्दछ ।

कर्मक्षेत्रमा सदाचार एवम् उपासना क्षेत्रमा निदिध्यासन प्रधान वैष्णव सम्प्रदायका पञ्चसंस्कारद्वारा संस्कारित वैष्णवहरूले वेदादि सत्शास्त्रानुकूल भगवत्प्राप्ति–मूलक यज्ञानुष्ठान, शालिग्राम–पूजन, सदाचार–पालन, उपासना र भागवतादि सत्शास्त्रको स्वाध्याय निरन्तर रूपमा गरिरहनु पर्दछ । वैष्णव सम्प्रदायमा दीक्षित वैष्णवहरू सम्प्रदायका परम्परागत शास्त्रीय आचारसूत्रहरू, धर्मतत्त्व र ब्रह्मतत्त्वपरक श्रुति र तदनुकूल शास्त्रप्रति समर्पित, निष्ठावान् एवम् आचारवान् बन्न र बनाउन सदैव प्रयत्नशील रहनु पर्दछ ।
मिति: २०७८ चैत्र ६-८ गते जय श्रीराधे ! जय श्रीकृष्ण !
समय: बिहान ११.१५ बजे
स्थान: निम्बार्क वैष्णव परिषद् नेपाल
केही सन्दर्भः
निम्बार्क वैष्णव परिषद् नेपाल (महाधिवेशन-२०७८ चैत्र ६-८)
१. यो कार्यक्रम वैदिक सनातन निम्बार्क वैष्णव सम्प्रदायका अनुयायीहरूको साझा संस्था निम्बार्क वैष्णव परिषद् नेपालको पाँचौं केन्द्रीय महाधिवेशनको त्रिदीवसीय कार्यक्रम हो ।
२. यो कार्यक्रम यही २०७८ चैत्र ६, ७ र ८ गते श्रीकृष्णागण्डकीको पावनतट केलादीघाटमा अवस्थित श्रीराधादामोदर मन्दिर (नेपाल निम्बार्क पीठ वैष्णवतीर्थ) मा सम्पन्न गरिँदैछ ।
३. यस महाधिवेशनले निम्बार्क वैष्णव परिषद् नेपालको आगामी चारवर्षको लागि संस्थागत नीति तथा कार्यक्रम, (अपेक्षित लक्ष्य, रणनीति, कार्यनीति-सहितको योजना) निर्माण\पारित गर्नेछ ।
४.१ यस संस्थाको विधान, सम्प्रदायको सिद्धान्त, मूल्यमान्यता र परम्परा एवं प्रचलित विधिनियम अनुसार निर्वाचन गरी आगामी चारवर्षको लागि केन्द्रीय कार्य समितिको गठन गर्नेछ ।
४.२ यस सम्प्रदायलाई जनजनमा पुर्याई वैष्णव समाजमा युवा तथा नारी जागरण ल्याउन निम्बार्क वैष्णव परिषद् अन्तर्गत संस्थाको विधान अनुसार यथासम्भव मातृशक्ति परिषद् तथा युवाशक्ति परिषद् केन्द्रीय तदर्थ समितिको गठन गरिनेछ ।
५ यस महाधिवेशन कार्यक्रममा वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू, जिल्ला प्रतिनिधिहरू, आजीवन सदस्यहरू साधारण सदस्यहरू लगायत यस संस्थामा आबद्ध शुभेच्छुक संघ-संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
६ निम्बार्क वैष्णव परिषद् नेपालको पाँचौं महाधिवेशनका लागि आवश्यक खर्चको व्यवस्थापन निम्बार्क वैष्णव परिषद् नेपालका सदस्यहरूबाट प्राप्त हुने विविध सदस्यता शुल्क तथा शुभेच्छुक व्यक्ति वा संघ-संस्थाहरूद्वारा प्रदत्त सहयोगबाट गरिनेछ ।
७.१ निम्बार्क वैष्णव सम्प्रदायका अनुयायी साधकहरूलाई नेपालमा युगानुकूल रूपमा संगठित गर्नु, वैदिक सनातन धर्मका विभिन्न शाखा एवं सम्प्रदायसँग सामञ्जस्यता कायम गरी ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः..’को भाव पुनर्जागृत गराउनु तथा वैष्णव भक्तिसाधना र भेदाभेद दर्शनको पृष्ठभूमिमा धार्मिक, सांस्कृतिक र आध्यात्मिक जागरण ल्याउनु हो ।
७.२ अनि वैदिक सनातन धर्म-संस्कार किंवा संस्कृतिप्रति निष्ठावान्, परोपकारशील र जनहितप्रति प्रेरित र समर्पित समाज निर्माणका लागि शान्ति, सद्भाव र भातृत्व अभिवृद्धि गर्नु र वैष्णव (अहिंसा) धर्म-संस्कृतिको विकास, निम्बार्क वैष्णव भक्तिसाधना तथा भेदाभेद दर्शनको संरक्षण र सम्वर्धनमा सहयोग पुर्याउनु यस संस्था वा कार्यक्रमका साझा उद्देश्य हुन् ।
८.१ सार्वभौमाचार्य वैष्णवभूषण गोलोकवासी श्रीभगवच्छरण देवाचार्यजी महाराजले नै सर्वप्रथम श्रीकृष्णा-गण्डकीको यही पावनतट केलादी घाटबाट नेपालमा निदिध्यासन (ध्यान-धारणा) प्रधान भागवत किंवा वैष्णव (अहिंसा) धर्मको व्यापक प्रचार प्रारम्भ गर्नुभएको हो ।
८.२ अनि सम्प्रदायरत्न भागवतभूषण श्रीमहाराजजीद्वारा स्थापित एवं उहाँका शिष्य-प्रशिष्यद्वारा सञ्चालित यही पावनतटमा अवस्थित श्रीराधादामोदर मन्दिर (नेपाल निम्बार्क पीठ) वैदिक सनातन निम्बार्क वैष्णव सम्प्रदाय किंवा वैदिक सनातन धर्मानुयायीहरूको आस्था, विश्वास र भरोसाको प्रमुख केन्द्र किंवा आधारभूमि हो ।
८.३ यसले हामी सबै वैदिक सनातन धर्मानुयायीहरूको गौरव बढाएको छ, हामी सबैलाई पारमार्थिक चिन्तनतर्फ उन्मुख हुन थप प्रेरित गरिरहेको छ । त्यसैले यस पावन स्थानमा नै निम्बार्क वैष्णव परिषद् नेपालको पाँचौं केन्द्रीय महाधिवेशनको आयोजना गरिएको हो । जय श्रीराधे ! जय श्रीकृष्ण !





आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend