काठमाडौँ , ३ चैत । कोभिड १९ विश्वव्यापी रूप लिइरहेका बेला नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।
दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे उक्त निर्णय लिएको हो । भिसा आवेदकहरूका लागि कोभिड- १९ सम्बन्धी सूचनास् २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ।
दूतावासका अनुसार, यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने छ । यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ ।
दूतावासले कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।