काठमाडौं । क्यासिनोमा जाने लत लागेका नेपालीलाई चर्को ब्याजदरमा लगानी गर्नेहरुका कारण नेपालमा मिटरब्याजको कारोबार मौलाउँदै गयो । क्यासिनोमा हार्ने नेपालीको घरजग्गा, गाडी धितोमा राखी मिटरब्याजमा लगानी गर्ने बलराम सापकोटा‘बले’, कविन शाक्य, वीरेन्द्रलाल श्रेष्ठ, अरुण सेढाईहरुमध्ये कतिपय होटल र क्यासिनोकै संचालक भइसकेका छन् । कतिपयले अरु पेशामा पनि लगानी गरेका छन् ।
पछिल्लो समयमा अवैध जुवा अखाडामा जाने लत लागेकाहरुलाई मिटरब्याजमा लगानी गर्ने क्रम बढेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरेपछि अरुण सेढाईहरुले नयाँ तरिका निकालेर छिराउन थालेका छन् । सिक्किम र दार्जिलिङको कीर्ते परिचयपत्र बनाएर नेपालीलाई क्यासिनो प्रवेश गराउने क्रम बढेको छ । प्रहरीले क्यासिनोमा नेपाली मूलका नागरिकको छानबिन गर्ने हो भने उनीहरुसँग भएको परिचयपत्र कीर्ते फेलापर्ने स्रोत बताउँछ ।
अवैध जुवा खेल्ने, घरजग्गामा लगानी गर्नेहरुदेखि विभिन्न ब्यवसायमा लगानी गर्ने, ठेकेदारहरुले पनि मिटरब्याजमा रकम चलाउने गरेका छन् । मु्ढे–चरिकोट सडक स्तरोन्नतिको काषर्् २ वर्षमा काम सक्नेगरी जिम्मा लिएका शंकरमाली, सुनौलो खिम्ती जेभी र भारतीय निर्माण कम्पनी सकिल हैदरलाई मिटरब्याजमा लगानी गरी दोब्बर तेब्बर असुली गर्नेे मेलुङ गाउँपालिका–१, दोलखा घर भएका गणेश उप्रेतीलाई सीआइबीले २०७८ साउन १ गते झन्डै २० करोडको चेकसहित पक्राउ गरेको थियो ।
सावाँको दुई गुणा तीन गुणा बढी तिरिसक्दा पनि उप्रेतीले दुःख दिने, पर्शुराम बस्नेतको टोली लगाएर दुःख दिने गरेपछि शंकरमालीका दीपक सापकोटा भूमिगत भएका थिए । शंकरमालीका अर्का संचालक हेमराज गुभाजू र प्रकाश कार्कीले पनि उप्रेतीबिरुद्ध उजुरी दिएका थिए । उनीहरुलाई पर्शुराम नै परिचालन गरी धम्की दिएपछि बाध्य भएर प्रहरीको शरणमा पुगेका थिए । डोल्पाका निर्माण व्यवसायी दीपेन्द्र शाहीले पनि मिटरब्याजी उप्रेतीबिरुद्ध सीआइबीमा उजुरी दिएका थिए । शाहीले २ करोड २० लाख रूपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा उप्रेतीले १४ करोड हिसाब पुर्याएर पीडित बनाएपछि उनले सीआइबीमा जाहेरी दिएका थिए । उप्रेतीलाई मिटरब्याजको रकम तिर्न नसक्खा उनको टर्चर सहन नसकी कतिपयले आत्महत्याको बाटोसमेत रोज्ने अवस्था निम्तिएको थियो । मिटरब्याजी उप्रेतीले दोलखा घर भएका एमालेका एक पूर्वमन्त्रीको रकम समेत मिटरब्याजमा लगानी गरेकाले उनीमाथि प्रहरीले कारबाही गर्न सकेको थिएन । तर अति भएपछि सीआइबीले उनलाई पक्राउ गरेको थियो ।
त्यस्तै पछिल्लो पटक मिटरब्याजको धन्दाबाट अरबौंपति भएकाहरुमा राजु अवाले र अशोक गिरी पनि हुन् । अवालेले प्रहरीका उच्च अधिकारीको रकम ‘मिटर ब्याज’ मा लगाउने गरेको स्रोतले बताएको छ । पीडितहरुका अनुसार मिटरब्याजी अवालेको बसाई नै उपत्यकाका प्रहरी कार्यालयमै हुने गरेको छ । उनी प्रहरीको कलसाइनको समेत प्रयोग गरी मिटरब्याजमा लगानी गरेकाहरुलाई तर्साउँदै असुली गर्ने गर्दछन् । अवालेले कोटेश्वर र पाटनमा दुईवटा रेष्टुरेन्ट सञ्चालन गरेका छन् । त्यही रेष्टुरेन्टमा बसेर उनले ‘मिटर ब्याज’को धन्दा चलाउने गरेका छन् । अवालेले आफैँ र प्रहरी अधिकारी प्रयोग गरेर ‘मिटर ब्याज’को पैसा असुल्न थालेपछि पीडितहरु गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयसम्म गुनासो बोकेर पुगेका छन् ।
अवालेविरुद्ध विभिन्न मुद्दा पनि प्रहरीमा छन् । गएको भदौ ५ गते यौन व्यवसाय चलाएको आरोपमा अवाले पक्राउ परेका थिए । उनीसहित ९ जनाविरुद्ध १७ भदौमा ललितपुर प्रहरीले अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा हालेको छ ।
जमलस्थित दरबार रोधी घरका सञ्चालक अशोक गिरीले जुवाडेलाई मिटरब्याजमा रकम लगानी गर्ने गरेका छन् । गिरीले दरबार रोधी घरको माथिल्लो तल्लामा मदिरा सेवन गराई जुवा खेलाएर चेक काटेकै भरमा उनले अबैध सम्पत्ति आर्जन गर्दैआएको स्रोत बताउँछ । पैसावाला जग्गा ब्यापारी र जुवाडेलाई जुवा खेल्न बोलाउने र मदिरामा लठ्ठ बनाएर आफैले चेकमा रकम लेख्ने र मिटरब्याजमा असुल्ने उनको प्रवृत्ति रहेको एक पीडितले बताएका छन् ।
केही मिटरब्याज पीडित र जुवाडेले गिरीविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । गिरीलाई आफूलाई एमालेको कार्यकर्ता बताउने नारायण सापकोटाले साथ दिने गरेका छन् । काठमाडौंका यसअघिका एसएसपी अशोक सिंह र हालका एसएसपी सुदीप गिरीको नाम समेत गिरी र सापकोटाले लिने गर्दछन् । एसएसपीकै संरक्षण रहेको देखाएर मिटरब्याजमा लगानी गरेकाहरुलाई तर्साउने गरेका छन् । गिरीको दरबार रोधीघर बिहान ४ बजेसम्म खोल्न छुट दिइएको छ । जमलमा अरु रेष्टुरेन्ट वा रोधी घर भने ९ बजे नै प्रहरीले बन्द गर्ने गर्दछ ।
काठमाडौंको बौद्धबाट गएको असार २२ मा आठ महिलासहित २८ जना जुवाडे पक्राउ पर्दा गिरी पनि परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको थियो । तर काठमाडौं परिसरका तत्कालीन एसएसपी अशोक सिंहले उनलाई हिरासतमा नराखी घरमै पठाएका थिए ।
बौद्धको सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा जम्मा भएर जुवा र कौडा खेलिरहेको अवस्थामा गिरीसहित २८ जना पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौले पठाएको पक्राउ परेका जुवाडेको सूचीमा सिन्धुपाल्चोकका अशोक गिरीको नाम थियो । उनीहरुको साथबाट १४ लाख ५९ हजार नेपाली रुपैयाँ, ११ हजार ४ सय भारु, १ लाख र ८० हजारको दुई थान चेक, ३० थान कौडा र १३ थान तासबुक समेत बरामद गरेको थियो । उनी जुवा खेल्न नभएर जुवाडेलाई मिटरब्याजमा लगानी गर्नका लागि उक्त अखडामा गएका थिए ।
त्यसैगरी, प्रहरीले नै प्रहरीलाई मिटरब्याजमा पैसा लगानी गर्ने गरेको पाइएको छ । अपराध महाशाखाका असई प्रयासजंग शाहले प्रहरीलाई नै मिटरब्याजमा पैसा लगएको तथ्य खुलेको छ । उनले मिटरब्याजको रकम नतिरेपछि आफ्नै मोवाइल नम्बरबाट छिटो पैसा तिर्न दबाब दिएको म्यासेज नै नेपालफेसलाई प्राप्त भएको छ । दर्जा असई भए पनि शाहले करोडौं रुपैयाँ मिटरब्याजमा लगानी गरेको स्रोत बताउँछ । उनले मिटरब्याजमा लगानी गरी ठगी गरेकोबारेमा प्रहरीका विभिन्न निकाय हुँदै प्रधान कार्यालयमा प्रमाणसहित उजुरी दिंदा पनि कारबाही नभएको पीडितको गुनासो प्राप्त भएको छ ।