काठमाडौं । नेपाल राष्ट्रिय पुस्तकालयले जमलमा बनाउन लागेको पुस्तकालय भवन निर्माणको टेण्डरमा सार्वजनिक खरिद ऐन नियमको ठाडो उल्लंघन गर्दै प्रतिस्पर्धालाई नै सीमित गरी ठेक्का दिने चलखेल भएको छ । २०७८ माघ १० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गरेको पुस्तकालय भवनको टेन्डरमा प्रतिष्ठा निर्माण सेवालाई दिनेगरी सेटिङ गरिएको प्रष्टसँग देखिएको छ ।
मन्त्रालयले प्रकाशित गरेको टेन्डर सूचना अनुसार १० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको एउटा डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउनेगरी स्पेफिकेसन राखिएको छ । २०७२ को भूकम्पमा राष्ट्रिय पुस्तकालयको पुल्चोकस्थित भवन भत्किएपछि टहरा बनाउनका लागि प्रतिष्ठा निर्माण सेवालाई दिइएको थियो, ती टहरा सबै पानी चुहिनेखालका बनाएको भए पनि स्पेकमा त्यो टहरा (ट्रष्ट) बनाएको हुनुपर्ने बुँदा पनि राखिएको छ । जुन बुँदा प्रतिष्ठा निर्माण सेवालाई नै दिनेगरी राखिएको आशंका गरिएको छ ।
प्रतिष्ठा निर्माण सेवाको सेटिङमा १० बर्षभित्र कम्तीमा प्रतिबेसमेन्ट १३८५ स्क्वायर मिटर भएको डबल बेसमेन्ट तयार गरेको, ५ सय मिटर क्षमताको सभाहल निर्माण कार्य गरेको, अन्तर्राष्ट्रिय अभ्यासको पुस्तकालय भवन निर्माण गरेको, मन्दिर तथा पुरातत्व निर्माण तथा पुननिर्माण जस्ता काम गरिसकेको निर्माण कम्पनी मात्र सहभागी हुन पाउने प्राविधिक मापदण्डहरु राखेर मन्त्रालयका सचिव कोइरालाले प्रतिस्पर्धालाई खुम्च्याएको निर्माण ब्यवसायी महासंघका पदाधिकारीको गुनासो छ ।
नेपालमा डबल बेसमेन्ट भवन निर्माणको अनुभव हासिल गरेका कम्पनीको संख्या सीमित छ, त्यसमाथि भवनको बेसमेन्ट निर्माणभित्र पनि साना–साना क्राइटेरिया तोकेर प्रतिस्पर्धा खुम्च्याइएको छ । टेन्डरको सूचनाअनुसार एउटै भवनमा प्रतिबेसमेन्ट १३८५ वर्गमिटरमा ६०० एमएम मोटाइको १४ मिटर गहिरो पाइलिङ गरेको कम्पनी मात्रै यो ठेक्काको प्राविधिक मूल्यांकनमा पास हुनसक्छ । त्यतिमात्रै नभएर डबल बेसमेन्टमा एम ३० र त्यसभन्दा माथिको क्रंक्रिटिङको विशेष अनुभव ४ हजार घनमिटर मागिएको छ । यसले एउटै भवनमा डबल बेसमेन्टमा मात्रै काम गरेको अनुभवले नहुने र क्रंक्रिटिङका ठूलो काम गरेको अनुभव पनि चाहिने छ ।
पुस्तकालयका अधिकारीका अनुसार प्रतिस्पर्धालाई सीमित गराउन र एउटा मात्रै कम्पनीलाई प्राविधिक मूल्यांकनमा पास गराउने पूर्वयोजना अनुरुप नै ठेक्का प्रकाशित भएको हो । पुस्तकालय भवन बनाउनका लागि प्रतिष्ठा निर्माण सेवाका संचालक धु्रव रिजालसँग शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाको सेटिङ भएकाले उसैले ठेक्का पाउनेगरी मापदण्ड(स्पेक) राखिएको स्पष्ट भए पनि सरोकारवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायले छानबिन गर्न सकेका छैनन् ।
पुस्तकालय भवन निर्माणको लागि यस्ता स्पेक राख्नै नपर्ने अवस्थामा प्रतिष्ठा निर्माण सेवालाई नै दिनका लागि राखी प्रतिस्पर्धालाई सीमित गर्ने कार्यमा शिक्षा सचिव कोइरालाले नै मिलेमतो गरेको आरोप छ । ७० करोड रुपैयाँ लागतको भवन निर्माणमा प्रतिस्ठा निर्माण सेवाका संचालक धु्रव रिजालसँग सचिव कोइरालाको सेटिङ भएकै कारण सार्वजनिक खरिद ऐन नियम बिपरीतका मापदण्ड राखि ठेक्का दिन लागिएको छ ।
प्रतिष्ठा निर्माण सेवाको धन्दा, ठेक्का लिंदै बेच्दै
प्रतिष्ठा निर्माण सेवा निर्माण जगतमा बदनाम छ । सो कम्पनीले सेटिङ गर्दै ठेक्का लिने र २० देखि ३० प्रतिशतमा ठेक्का बेच्ने गर्दैआएको छ । संचालक धु्रव रिजालले प्रधानमन्त्री पत्नी डा. आरजु राणाको नाम लिने बिचौलिया रामचन्द्र भट्ट ‘चन्दने’ र सचिव कोइरालासँग सेटिङ गरी राष्ट्रिय पुस्तकालयको ठेक्का सेटिङमा लिन लागेका हुन् । रामचन्द्र भट्ट बालुवाटारका ठूला बिचौलिया हुन् । उनले सरुवा बढुवा, नियुक्तिदेखि ठेक्कापट्टामा समेत बालुवाटार सेटिङ गर्छु भन्दै ऐन कानुन बिपरीतका काम गराउँदैआएका छन् । सचिव कोइरालालाई पनि तिनै भट्टले नै पुस्तकालयको ठेक्का प्रतिष्ठा निर्माण सेवालाई नै दिनका लागि सेटिङ गराएको तथ्य खुलासा भएको छ । टिम्बर कर्पोरेसन अफ नेपालका पूर्व महाप्रबन्धक भट्टको नाम सुपारी, केराउ तस्करहरुलाई कोटा मिलाइदिने प्रकरणमा पनि जा्ेडिन पुगेको छ ।
प्रायः क वर्गका निर्माण ब्यवसायीसँग स्काभेटरदेखि सबै उपकरण हुन्छन् । तर क वर्गको निर्माण कम्पनी प्रतिष्ठासँग एउटा सिमेन्ट र गिटी मिसाउने मिक्स्चर समेत नभएको निर्माण ब्यवसायी महासंघका एक सदस्यले बताए । उनले भने–सेटिङमा ठेक्का लिने र बेच्ने प्रतिष्ठाका रिजालको धन्दा हुँदैआएको छ ।
बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)ले बाराको सिमरामा संरचना निर्माणको ठेक्का प्रतिष्ठा निर्माण सेवालाई दिएको थियो । तर प्रतिष्ठाले अर्कै कम्पनीलाई उक्त ठेक्का बेच्यो, प्रतिष्ठाले लिएको ठेक्का अर्कैले किनेर संरचना बनाउँदा गुणस्तरहीन भएकाले पाँचवटा पिलर नै भाँचिएका छन् । र, सेजका सीईओ चण्डिकाप्रसाद भट्ट पिलर भाँचिएपछि प्रतिष्ठालाई ठेक्का दिएका कारण अख्तियारको फन्दामा परिने चिन्तामा परेका छन् । उनले प्रतिष्ठाका ुसंचालक रिजाललाई गुणस्तरहीन संरचना निर्माण भएर पिलर भाँचिएपछि कालोसूचीमा राख्ने चेतावनी दिई गुपचुप रुपमा अर्को पिलर बनाउने काम भइरहेको छ ।
सेज एक उदाहरण हो, प्रतिष्ठाले ठेक्का लिएका हरेक संरचना गुणस्तरहीन निर्माण भएका छन् । बिचौलियामार्फत् शक्तिकेन्द्रमा पहुँच पुर्याई ठेक्का लिने र २० देखि ३० प्रतिशत लिएर अर्कैलाई बिक्री गर्ने प्रतिष्ठा निर्माण सेवाले राष्ट्रिय पुस्तकालयको ठेक्का लिएमा त्यो भवन पनि गुणस्तरहीन निर्माण हुने र अख्तियारको कठघरामा आफू पर्ने चिन्तामा पुस्तकालयका कार्यालय प्रमुख दशरथ मिश्र छन् ।
प्रतिष्ठा निर्माण सेवालाई ठेक्का दिने योजनाअनुसार टेन्डरमा अधिकतम योग्यता र शर्त एउटा कम्पनीलाई मात्रै मिल्ने गरी तोकिएकोबारेमा शिक्षा मन्त्रालयका सहसचिव युवराज सुवेदीले भने–त्यस्तो नहुनुपर्ने हो । तर खरिद ऐन नियम बिपरीत एउटा कम्पनीलाई मात्र मिल्नेगरी मन्त्रालयबाटै स्पेक राखिएकोबारेमा उनले भने–‘मापदण्ड त पुस्तकालयकै प्रमुखहरुले बनाएका हुन् ।’
७० करोड लागत मूल्यको पुस्तकालयको टेण्डर स्वस्थ प्रतिस्पर्धा हु्ँदा ५० करोडमै बनाउन प्रतिष्ठित कम्पनी तयार हुने अवस्था हुँदाहुँदै बदनाम कम्पनीलाई मात्र अनुकूल हुनेगरी योग्यता र सर्त राखिएको छ । जुन सावजनिक खरिद ऐन नियम बिपरीत हो । खरिद ऐनअनुसार त्यसरी सर्त राख्न पाइँदैन ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend