काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज (मंगलबार) मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको राष्टपति परमाधिपति हुन् ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यस पटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्यान्ड डिस्प्लेसहित गीत संगीतको धुन प्रस्तुत हुनेछ ।
जंगी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको संगठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् ।