Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संरक्षणमा चासो नदिँदा लोप भए पानीघट्ट


    सोमबार, फाल्गुन १६ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • म्याग्दी । विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्टलगायतका मौलिक सम्पदा लोपहुँदै गएका छन् ।

    एक दशक अगाडिसम्म म्याग्दीका ग्रामिण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानीघट्ट अहिले लोप भएका हुन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ-गाउँमा पानी तथा बिजुलीमार्फत् सञ्चालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको हो ।

    गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रुपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिलनै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत् फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर्थ्यो ।

    अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानी घट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ ।

    मालिका गाउँपालिका–२ रुम गाउँका स्थानीयवासीले केही वर्ष अगाडिसम्म पानीघट्टमै आटोपिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई/तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन् । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन् भने त्यसका पाटपूर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् ।

    मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीयवासी रणबहादुर बुढाको भनाइ छ । उनले पहिले-पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानीपिसानीको लागि जाने गरेको बताए ।

    जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् ।

    त्यसका साथै एक दशक अघिसम्म परम्परागत ग्रामीण जीवनको अभिन्न अङ्गजस्तै बनेको पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेकाले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर भए पनि यस्ता रैथाने सीपको संरक्षण गर्नुपर्ने म्याग्दीको इतिहास तथा संस्कृतिका अध्यता कृष्णबहादुर बानियाँ बताउँछन् ।

    पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता सम्पदा र प्रविधिको जर्गेनाका लागि स्थानीय सरकार पनि चनाखो रहनुपर्ने मालिका–२ रुमका वडाअध्यक्ष नरबहादुर पुन बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार