एजेन्सी । युक्रेनमा अहिले अन्योलको स्थिति छ र घटनाक्रम तीव्र गतिमा विकसित भइरहेको छ।
रुसी सैनिकहरू पूर्वमा पृथक्तावादीहरू भएको डोन्बास क्षेत्र, उत्तरमा बेलारुस र दक्षिणमा क्राइमियासहित धेरैतिरबाट युक्रेन छिरेका छन्। अधिकांश सङ्घर्ष पूर्वमा केन्द्रित छ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभका बासिन्दाहरूका अनुसार रुसी र युक्रेनी सेनाबीच बम हानाहान हुँदा निरन्तर विस्फोटनका कारण आवासीय भवनका झ्यालहरू थर्किने गरेका छन्।
उत्तरमा राजधानी किएभ र दक्षिणमा बन्दरगाह सहर ओडेसा र मारिऊपोलमा दोहोरो भिडन्त भएका विवरणहरू प्राप्त भएका छन्।
रुसले युक्रेनी सैन्य आधारशिविर र विमानस्थललाई निसाना बनाएर हवाई आक्रमण गरेको छ। किएभनजिकै रहेको एउटा महत्त्वपूर्ण विमानस्थलमा ठूलो सङ्घर्ष भइरहेको बताइएको छ।
युक्रेनी सेनाले कम्तीमा छवटा रुसी विमान खसालेको दाबी गरेको छ भने रुसले ७० वटाभन्दा बढी युक्रेनी सैन्य स्थलमा क्षति पुर्याइएको जनाएको छ।
धेरै युक्रेनीहरूले सुरक्षित स्थलमा आश्रय लिन वा ठूला सहर छोडेर अन्यत्र जान खोजिरहेका छन्। राजधानी किएभ बाट हजारौँ मानिस बाहिर गएको देखिएको छ।
रुसले हवाई आक्रमण गर्न सक्ने डर फैलिएको बेला युक्रेनस्थित बीबीसीका सहकर्मीहरूका अनुसार सहरको मध्यभागमा साइरन बजेको सुनिन्छ।
धेरै मानिसहरूले मेट्रो स्टेशनमा आश्रय लिएका छन् भने सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।