Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहसचिवहरुको महिनैपिच्छे सरुवा


    सोमबार, चैत्र ३ २०७६
    920
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, ३ चैत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकलाई २०७६ माघको तेस्रो हप्ता उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरियो । उनी रमाना लिएर काठमाडौं आए । तर उनलाई उद्योग मन्त्रालयले हाजिर गराएन । सरुवा संशोधन गरी उनलाई युवा तथा खेलकुद मन्त्रालयमामा पठाइएको उनले रमाना लिएर उद्योगमा पुगेपछि थाहा पाए ।

    उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्टारबाट मधेशी आयोगमा सरुवा भएका भुवनहरि अर्याललाई तत्कालीन सचिव यामकुमारी खतिवडाले रमाना दिइनन् । र, उद्योग मन्त्रालयकै कर्मचारी प्रशासन महाशाखामा राखिन् । अर्याल कम्पनी रजिष्टार कार्यालयको प्रमुखका रुपमा असफल भएकाले उनलाई मधेशी आयोगमा सरुवा गरिएको थियो । तर सचिव खतिवडाले उनलाई मन्त्रालयकै महत्वपूर्ण महाशाखाको प्रमुखमा राखेकी छन् । 

    सरकारले बढुवा भएका ३७ सहसचिवको पदस्थापन र ५ को सरुवा गर्दा अर्थमन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख रहेका डा. रामप्रसाद घिमिरेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा सरुवा ग¥यो । उनी २०७६ पुस १५ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अर्थमन्त्रालयमा सरुवा भएका थिए । तर ३ महिनामै उनलाई २ नम्बर प्रदेशमा सरुवा गरिएको छ । जबकि उनलाई अर्थमन्त्रालयमा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाको जिम्मेवारी दिने चर्चा भइरहेको थियो । यद्यपि उनलाई अर्थमन्त्रालयले ४ दिनअघिमात्र मात्र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखबाट आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिएको थियो । अर्थले महाशाखाको जिम्मेवारी हेरफेर गर्नासाथ उनलाई प्रदेश २ मा सरुवा गरिएको अर्को निर्णय सार्वजनिक भयो ।

    निजामती प्रशासनमा बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव शिवराम न्यौपाने एक महिनादेखि ३ महिनामा सरुवा हुनेमा पर्दछन् । बुर्लाकोटी कृषि मन्त्रालय, यातायात ब्यवस्था विभागको महानिर्देशक, स्वास्थ्य मन्त्रालय जस्ता धेरै मन्त्रालय चाहार्नेमा पर्दछन् । न्यौपाने पनि तत्कालीन सामान्य प्रशासन मन्त्रालयको सहसचिव, उद्योग विभागको महानिर्देशक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको प्रमुख, स्वास्थ्य मन्त्रालय, श्रम मन्त्रालय हुँदै महिला मन्त्रालयमा पुगेका हुन्, आजको साँघु साप्ताहिकमा समाचार छ । 

    यसरी सहसचिवलाई १ महिना, २ महिना र ३ महिनामा सरुवा गर्ने प्रबृत्ति प्रशासनतन्त्रमा विद्यमान छ । स्वास्थ्य मन्त्रालयमा सरुवा भएको एक महिना नपुगी सहसचिव इन्द्रमणि पोखरेललाई पुनः बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । नेकपाका नेताहरुदेखि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग पहुँच भएका पोखरेल बिराटनगर महानगरपालिकामा पनि नजाने खेलमा छन । उनले सरुवा संशोधन गराउन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ नै लगाइसकेको समाचार छ । उनले गिरिराजमणि पोखरेलदेखि नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायत मन्त्री हुँदा निजी सचिवका रुपमा काम गरेका थिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार