काठमाडौँ । अभिनेता पल शाहले आफूविरद्ध गायिका समीक्षा अधिकारीले ‘फकाएर’ जबरजस्ती करणी गरेको भन्ने प्रहरीमा जाहेरी दर्ता गरेपछि त्यसको प्रष्टीकरण दिएका छन्।
अभिनेता पलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् एक स्टाटस जारी गर्दै आफूविरुद्ध षडयन्त्र भएको भन्दै उनले गायिका अधिकारीलाई अरुले उकासेको समेत बताएका छन्।
साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओली, भाई कृष्ण जोशी र सम्राट चौलागाई मिलेर आफूमाथि षड्यन्त्र गरिएको दाबी समेत गरेका छन् ।
‘केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा गायिका अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ, ‘ पलले लेखेका छन्।
यस्तै, पलले आफू दोषी ठहर देखिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन् । साथै, पलले आफूलाई उनीहरुले षडयन्त्र गरेको आरोप लगाउँदै अडियो क्लीप समेत सार्वजनिक गरेका छन्।
बुधबार गायिका अधिकारीले पलले आफूविरुद्ध जबरजस्ती करणी गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दर्ता गराएकी छन्। अधिकारीको उजुरी प्रमाणित भएमा पललाई १० देखि १२ बर्षसम्मको कैद सजाय हुने देखिन्छ।
के छ कानूनमा ?
नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिकारकिशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’
उपदफा ३ मा पीडितको उमेर समूहअनुसार सजायसम्बन्धी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ । १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।
दफा २२८ ले पिडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । दफा २ सय १९ अन्तर्गतका कसुरको हकमा कसुर भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने र त्यसभन्दा पछि उजुरी गरेमा उजुरी नलाग्ने व्यवस्था छ । दफा २२० अन्तर्गतको कसुर भए जहिले पनि उजुरी लाग्न सक्छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिन सक्ने व्यवस्था छ ।
यदि पीडितले पछि अदालतमा बयानमा फेरेमा उनी स्वयम् कारबाहीको भागीदार हुन सक्छिन् । यस्तो घटनामा अदालतले बयान फेर्ने पीडत नै सजाय दिन सक्छ ।