Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण: तिमिल्सिना


    मंगलबार, फाल्गुन १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिमिल्सिनाले कोभिड- १९ को संक्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने उल्लेख गरे । उनले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिडविरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे ।

    राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरी बिदाइ हुन लागेका तथा दुई वर्ष कार्यकाल बाँकी रहेका सांसदहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आफ्ना मतदाता र जनतालाई कोभिड-१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको बताए।

    ‘हामी यहाँ फागुन २० गते कार्यकाल पूरा भएर बिदाइ हुने र दुई वर्षपछि बिदा भएर जाने राष्ट्रिय सभा सदस्यहरू सहभागी छौं,’ उनले भने, ‘त्यसैले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड-१९ बिरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउन लागौं।’

    उनले कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्रथामिकतामा स्वास्थ्य क्षेत्र परेको उल्लेख पनि गरे । ‘नेपालमा महामारीले निकै संकटको अवस्था सिर्जना गर्यो, लाखौंको संख्यामा संक्रमित भयौं र हजारौंको ज्यान गयो,’ उनले भने, ‘महामारीले ल्याएको संकटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ। यो सकरात्मक पक्ष हो।’

    विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संमाजीराव पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालिन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकता बारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंसा गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार