Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वेन्द्रकै शैलीमा आइजीपी सचिवालयबाट घुमुवा खटाइयो


    आइतबार, चैत्र २ २०७६
    1K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २ चैत ।

    चार महिना २४ दिनका लागि आइजीपी नियुक्त भएका ठाकुरप्रसाद ज्ञवालीले पूर्वआइजीपी सर्वेन्द्र खनालकै शैलीमा विवादास्पद प्रहरी नायब निरीक्षक(सई) रमेश बजगाईको नेतृत्वमा घुमुवा टोली खटाएका छन् ।

    बजगाईको नेतृत्वमा सई लोकेन्द्र पण्डित, विकास हमाल, हवल्दार रामचन्द्र पुडासैनी, जवान सन्तोष धमलालाई देशभरको घुमुवाका रुपमा खटाइएको छ । उनीहरुलाई विशेष ब्यूरोमा काजसरुवा गरी यही हप्ताबाट घुमुवाका रुपमा परिचालन गरिएको छ । बजगाई नेपाल प्रहरीको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइवी)मा लामो समय कार्यरत रहँदा गुण्डानाइकेहरुसँग कनेक्सन भएका सई हुन् । बजगाई र पण्डितको टोलीलाई घुमुवाका रुपमा असुलीमा खटाउने डिजाइन महानगरीय प्रहरी आयुक्त कार्यालयका एसएसपी श्याम ज्ञवाली र आइजीपी सचिवालयका एसपी भूपेन्द्र खत्रीले गरेको प्रहरी स्रोत बताउँछ ।

    एसएसपी धिरजप्रताप सिंह अपराध अनुसन्धान महाशाखाको प्रमुख हुँदा जेलभित्रका गुण्डानाइकेहरुसँग प्रहरीको कनेक्सन हुने र जेलभित्रैबाट अपराधको साम्राज्य संचालन हुने गरेको सूचना पुगेपछि गृहमन्त्रालयले छानबिन गर्न निर्देशन दिएको थियो । गृहको निर्देशनपछि अपराध अनुसन्धान महाशाखाले छानबिन गर्दा केही प्रहरी अधिकृतको कनेक्सन गुण्डानाइके रमेश बाहुन, समीरमानसिंह बस्नेतलगायतसँग देखिएको थियो ।

    अपराध महाशाखाले जेलभित्रको अपराधी–प्रहरीको जालोको बारेमा गृह मन्त्रालयलाई रिपोर्ट नै दिएको थियो । त्यो रिपोर्टमा बजगाईको कनेक्सन गुण्डानाइकेसँग देखिएपछि तत्कालीन आइजीपी सर्वेन्द्र खनालले उनलाई सीआइबीबाट ट्राफिक प्रहरी महाशाखामा सरुवा गरेका थिए । केही अधिकृतहरुमाथि कारबाही गरिएको थियो । तर तिनै बजगाईलाई ठाकुर ज्ञवाली आइजीपी भएपछि घुमुवा टोलीको इन्चार्ज बनाइएको छ । घुमुवा टोलीका अर्का सई लोकेन्द्र पण्डित पनि गुण्डानाइकेहरुसँग कनेक्सन भएका भनेर कारबाहीस्वरुप काठमाडौं परिसरबाट केही महिनाअघि नुवाकोटमा सरुवा भएका थिए ।  

    तर बजगाई र पण्डितलाई आइजीपी ज्ञवालीको सचिवालयका एसपी भूपेन्द्र खत्रीले आफूमातहत राखी घुमुवाका रुपमा परिचालन गरेका छन् । जसरी विगतमा आइजीपी सर्वेन्द्र खनालले सई कृष्णदेव साहको नेतृत्वमा घुमुवा परिचालन गरेका थिए । साहको घुमुवा टोलीले देशभर जाने अख्तियारी पाएको थियो । तर उनीहरु प्रायः २ नम्बर प्रदेशका ८ जिल्लामा तस्करहरुसँग असुलीमै बढी केन्द्रित भएपछि विवादमा परेका थिए । खनाल पनि उनीहरुका कारण बदनाम भएका थिए । अहिलेका आइजीपी ज्ञवालीलाई पनि सचिवालयका एसपी खत्रीले बजगाईहरुलाई घुमुवा राखेर विवादमा पार्ने काम गरेका छन् ।

    पूर्व आइजीपी खनालले उनको कार्यकालमा साहलाई पनि विशेष ब्यूरोमा काज राखी घुमुवाका रुपमा खटाएका थिए । सई साहको नेतृत्वमा आइजीपी सचिवालयबाटै असई रामरेख यादव, हवल्दार खुसीलाल यादवसहितको टोली खटाइएको थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार