काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपालले एमसीसी खारेज गर्नका लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।
युवा संघ नेपाल बागमती प्रदेश कमिटीले प्रदेशको १३ वटै जिल्लामा शुक्रवार(भोलि) ११ बजे एकै समयमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने भएको हो ।
राष्ट्रिय हित विपरीत सम्झौता नेपाली जनतालाई कदापी मान्य हुँदैन भन्ने नारासहित एमसीसी सम्झौता विरुद्ध सरकारलाई नागरिक दबाब स्वरुप हस्ताक्षर संकलन अभियानको संचालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
युवासंघका केन्द्रीय सचिव तथा बागमती प्रदेश कमिटीका अध्यक्ष फुर्वा तामाङले आम जनताको तीव्र विरोध र आपत्तिका बाबजुद पनि जबर्जस्ती राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट एमसीसी सम्झौता पास गराएको खण्डमा युवा संघ कडाभन्दा कडा जनसंघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
उनले नेपाल र नेपाली जनताको हितमा एमससी सम्झौता नभएको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीतिको विरुद्धमा यो सम्झौता भएको पनि जिकिर गरे ।
एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा युवा संघले लाखौं जनताको हस्ताक्षर संकलन गर्न लागेकाले अभियानमा सहभागी हुन प्रगतिशील, देशभक्त युवाहरुलाई समेत आह्वान गरेको छ ।