खोटाङ । एमसीसी सम्झौताविरुद्ध खोटाङमा फरक–फरक दुई वटा विरोध कार्यक्रम भएका छन् । प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्न लागिएको विरोधमा बुधबार दिक्तेलमा नागरिक समाजकातर्फबाट हस्ताक्षर संकलन तथा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरेका छन् ।
एमसीसी सम्झौता फिर्ताका लागि दबाब स्वरुप नागरिक समाजकातर्फबाट दिक्तेलबजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई पठाइएको छ ।
दिक्तेलबजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले नेपाल सरकार समक्ष पुग्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेलबजारमा नो एमसीसी, गो व्याक एमसीसी, रेजेक्ट एमसीसी, एमसीसी फिर्ता गरलगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो ।
पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान संगमपार्क, रत्नपार्क, किरातचोक लगायतका क्षेत्रमा सञ्चालन गरिएको हस्ताक्षर संकलन अभियानमा संलग्न टंक थापाले बताए ।
प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णयविरुद्ध वाइसिएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु (क्रान्तीकारी) र अनेरास्वबियुले दिक्तेलबजारमा संयुक्त रूपमा विरोध जुलुस निकालेका छन् । राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधीनता रक्षा गरौं भन्ने नारा लेखिएको कालो ब्यानर बोकेर युवा तथा विद्यार्थी संगठनले दिक्तेलको पुरानो बेस क्याम्पबाट किरातचोक (रत्नपार्क)सम्म विरोध प्रदर्शन गरेका हुन् ।
एमसीसीको विरुद्धमा चर्का नारा लगाउँदै हिँडेको जुलुस किरात चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अनेरास्ववियुका केन्द्रीय सचिव शम्भु घिमिरे र वाइसिएल नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मिलनचन्द्र राईले सम्बोधन गरेका थिए । नेताद्वयले एमसीसी पास नगर्न चेतावनी दिएका छन् ।