Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्तीमा छोडियो थप १५ गोही


    बुधबार, फाल्गुन ४ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ। पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो। यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो।
         
    यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ।

    यस आर्थिक वर्षमा १०० हाराहारी गोही छाडिने तयारी रहेको सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए।उनका अनुसार यस अर्थिक वर्ष लागेपछि हालसम्म राप्ती नदीमा ६२, नारायणीमा २० र कोसीमा २० गोही छाडिएको छ। थप केही गोही राप्तीमा छाड्ने तयारी छ। 
     
    पौडेलका अनुसार मंसिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ वटा गोही छाडिएको थियो। दुई भाले र १० पोथी नदीमा छाडिएको हो।

    माघ १९ गते पथरीस्थित कोसी नदीमा तीन भाले र १७ पोथी गरी २० वटा गोही छाडिएको थियो। माघ २३ गते जनकपुरघाटस्थित राप्ती नदीमा तीन भाले र १७ पोथी छाडिएको पौडेलले जानकारी दिए। 

    यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो। हालसम्म विभिन्न नदीमा एक हजार ६७२ गोही छाडिएको उनले बताए। 
     
    यस वर्ष राप्ती र नारायणीका सात वटा गुँडबाट संकलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन्। ती नदीमा गोहीका गुँडमा रहेका अण्डा प्रजनन् केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ। यही फागुन १५ गतेदेखि दुवै नदीमा गोहीको गुँड अनुगमन गरिँदै छ।
     
    केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएका हुन्। हालसम्म राप्तीमा ८८२, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन्।
     
    हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा ४३५ वटा गोही रहेका छन्। प्रजनन् केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ। राप्ती र नारायणी नदीमा पछिल्लो पटक गरिएको सर्वेक्षणमा पाँच वटा भाले गोही भेटिएको निकुञ्जले जनाएको छ। भालेको अभाव देखिएपछि केही वर्षअघि बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्तीमा छाडिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार