काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि आफूहरूले पनि बढाउन पाउनुपर्ने माग गर्दै लघुवित्त वित्तीय संस्था र सहकारीले नियामक गुहार्न थालेका छन् । नेपाल लघुवित्त वित्त बैंकर्स संघले राष्ट्र बैंक र राष्ट्रिय सहकारी महासंघले सहकारी विभागमा ज्ञापन बुझाएका छन् ।
फागुनदेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुभन्दा धेरैले बढाएका छन् । यससँगै निक्षेपको बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर पनि बढेको छ ।
यसअनुसार वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर १६.२४ र विकास बैंकहरूमा १९.०८ प्रतिशतसम्म पुगेको भन्दै सहकारीहरूले पनि कर्जाको ब्याज बढाउनुपर्ने माग गर्दै मंगलबार सहकारी विभागमा ज्ञापनपत्र बुझाएका छन् ।
सबैतिर ब्याजदर बढेको अवस्थामा सहकारी संस्थाको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत मात्र रहेको भन्दै त्यसलाई बढाएर कम्तीमा १७ प्रतिशत पुर्याउन र आधार दरमा बढीमा ६ प्रतिशतसम्म प्रिमियम थप गर्न पाउने व्यवस्था गर्न राष्ट्रिय सहकारी महासंघले आग्रह गरेको स्रोतले बताएको छ ।
तत्काल सन्दर्भ दर नबढाए सहकारी संस्थाहरूले अवज्ञा गर्ने अल्टिमेटम पनि महासंघले दिएको छ । कान्तिपुर दैनिकमा खबर छ।