Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश प्रदेश प्रहरी कार्यालयमा सिपाही हवल्दार खटाउँदा पनि घुस असुली 


    आइतबार, फाल्गुन १ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • जनकपुरधाम ।  नेपाल प्रहरीका एक जुनियर अधिकृतले डिआईजीलाई समेत गुमराहमा राख्दै मातहतका र्चौकीहरुबाट लाभ लिने गरेका छन् । प्रसंग मधेश प्रदेश प्रहरी कार्यालयको हो । मधेश प्रदेश प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत असई रामाशंकर पाण्डेले डिआईजी उमेश रंजितकारलाई समेत थाहा नदिई प्रदेशमा सेटिङ चलाएको खुलेको छ । 

    असई पाण्डेले प्रदेशभित्रका विभिन्न जिल्लामा पैसा लिएर सेटिङ मिलाई पठाउने गरेका छन् । प्रहरी सहायक निरीक्षक पाण्डे प्रदेश प्रहरी कार्यालयको  प्रशासन फाँट हेर्छन् । कुन प्रहरीलाई कहाँ पठाउने भन्नेमा प्रशासन फाँटको ठूलो हात रहन्छ । पाण्डेले आफूनिकटका र रकम लिएर जो कोहीलाई प्रदेशको कुनै जिल्ला भने अनुसार पठाउने गरेका छन् । रकम बुझेर दरबन्दी मिलाउने, जिल्ला–जिल्लामा काज गराउने, आकर्षक प्रहरी चौकीमा काज मिलाइदिने काम पनि गर्दैआएका छन् । 

    असई पाण्डेले पैसा नदिने र भनेको नमान्नेलाई अन्यत्र खटाई दुःख दिने काम गरेका र डरत्रास देखाई पैसा उठाउँदै आएको प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक तल्लो दर्जाका प्रहरीले जानकारी दिए । पाण्डे महोत्तरीका हुन् । उनले भन्नेको माने र रकम बुझाउनेलाई भनेको जिल्ला खटाउने  र विशेष प्राथमिकता दिने गरेका छन् ।

    चार–पाँच वर्षदेखि कप्र शाखामा काम गर्दै आएका पाण्डेकै कारण काम गर्ने प्रहरीको मनोबल गिराउने काम भएको छ । आचरण बिपरीत क्रियाकलाप गर्नेहरुको मनोबल बढेको गुनासो छ । असई पाण्डेले तल्लो दर्जाका प्रहरीसँग ८ देखि १५ हजार रुपैयाँसम्म रकम घुस दिए भनेको ठाउँमा खटाउने गरेका छन् । मधेश प्रदेशका डिआईजी उमेश रंजितकारसँग चाकडी गर्ने र नजिक भई उनले मौकाको फाइदा उठाइरहेका छन् । 

    असई पाण्डेले तल्लो दर्जाका प्रहरीसँग घुस असुली गरी दुःख दिएकोबारेमा डीआइजी रंजितकारलाई नै जानकारी दिन चेन अफ कमाण्डका कारण नसकेको र मिडिया गुहार्न बाध्य भएको एक प्रहरीले दुखेसो प्रकट गरेका छन् । पाण्डेले २०७३ को स्थानीय चुनावमा खट्ने म्यादी प्रहरीमा भर्ना गराइदिने भनेर धेरै व्यक्तिसँग ६ हजारदेखि १० हजार सम्म रुपैयाँ उठाएका थिए । घुस दिन रकम नभएका युवासँग भर्ति गराइदिन्छु तर चेक पाउने बित्तिकै बैंकबाट उठाएर पैसा तिर्नुपर्ने सर्त राखी म्यादी प्रहरीमा भर्ना गराएको रहस्य खुलेको थियो । तर म्यादी प्रहरीले बैंकले चेक पाउने बित्तिकै तिनीहरूबाट पनि ६ हजार देखि १० हजार बुझेको गुनासो संघीय प्रहरी कार्यालयका तत्कालीन  एसएसपी सुबास चौधरीसमक्ष पुगेको थियो ।

    म्यादी प्रहरीसँग पाण्डेले रकम उठाएको कुरा थाहा भएपछि छानबिन गरी एसएसपी चौधरीले संघीय प्रहरी कार्यालयमा तानेर निलम्बन गरेका थिए । म्यादी प्रहरीसँग रकम लिने काण्डमा निलम्बन समेत भएका बद्नाम र विवादित असई हुन् पाण्डे । तिनै पाण्डे त्यतिबेला धनुषाको प्रशासन शाखा र निर्वाचन सेलमा काम गरिरहेका  थिए । त्यतिबेला एआईजी विजयलाल कायस्थ थिए भने एसएसपीमा सुबास चौधरी थिए । धनुषा जिल्लाका एसपी लालमणि आचार्यको पालामा उक्त काण्ड भएको थियोे । 

    मधेश प्रदेश प्रहरी कार्यालयका असई पाण्डेको दरबन्दी सर्लाही हो । तर उनलाई डीआइजी रंजितकारले प्रदेश प्रहरीको कर्मचारी प्रशासनमा राखी सिपाही हवल्दारसँग घुस असुल्न छुट दिएका छन् । डिआईजी उमेश रञ्जितकार रौतहटमा एसपी हुँदा पाण्डे पनि हवल्दारमा प्रशासन शाखामै थिए । त्यही कनेक्सनका आधारमा पाण्डेले प्रदेश प्रहरी कार्यालयको कप्रमा सिपाही हवल्दारसँग सरुवामा घुस असुली गर्दा पनि डिआइजीले देखेको नदेख्यै गर्दैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार