बीरगंज । पर्साको बीरगंज महानगरपालिकामा पर्ने भन्सारको पूर्वपट्टि रहेको इनर्वागाउँबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा भन्सारछली तस्करी हुँदैअएको छ ।
सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बम र नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बिटु सिंहले तस्करलाई संरक्षण गरेको आरोप छ । प्रहरी र सशस्त्रको मिलोमतोमा तस्करी भइरहेको स्थानीयको आरोप छ ।
सशस्त्रको भन्सार बीओपी वीरगंजका इन्चार्ज सुवर्ण बम र अस्थायी प्रहरी पोष्ट इनर्वागाउँका इन्चार्ज सिंहले तस्करहरुसँग हप्ता असुलीदेखि महिनावारी समेत असुल्ने गरेका कारण व्यापक रुपमा ओसारपसार भइरहेको स्थानीयले आरोप लगाएका हुन् । पर्साको इनर्वागाउँ क्षेत्रबाट कपडा तस्करी हुने गरेको छ । इनर्वागाउँलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ ।
इनर्वागाउँबाट सशस्त्रका इन्स्पेक्टर बम र असई सिंहकै संरक्षण र मिलेमतोमा नेपालतर्फबाट मटर, मरिच, छोगडा, सुपारी, अलैंची, खुकुरी चुरोट, चाइनिज स्याउ, मदिरा, पेट्रोल, डिजेल, र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरुको तस्करी भइरहेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स, कुखुराको चल्ला, भैंसी, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगन्धा, स्पेयर पार्टस्, कुखुरा र अन्डालगायत विभिन्न वस्तु रातिमा तस्करी हुँदैआएको छ ।
सशस्त्र र प्रहरीको संरक्षणमा दिनमा पनि भन्सार छली लाइन मिलाएर सेटिङमा तस्करी हुने गरेको छ । तस्करीको लाइन पाउनेहरुमा कपडा तस्कर हरेन्द्र पटेल, मुना आलम, ओकील मिया, सुरेन्द्र र नरेश दास तथा किराना समाना ओसार पसार गर्ने बेचु नामका व्यक्ति छपकैयाका रहेका छन् । जयलाल यादव, मुना आलम, समूख तथा साइकलमा तस्करी गर्ने समूहमा आकाश, तबारक मिया, रवि शर्मा छन् ।
त्यसैगरी पिकअप र ट्याम्पोबाट कपडा र हार्डवेयरका सामानको तस्करी गर्दै आएका काका भन्ने व्यक्ति तथा हार्डवेयरका सामानको तस्करी गर्दै आएका शर्माजी राजकुमार लगायत धेरै तस्करहरुलाई लाइन दिइएको छ । यसरी तस्करहरुलाई लाइन दिएर प्रहरी र सशस्त्रका इन्चार्जले लाखौं असुली गर्ने गरेको आरोप छ । इनर्वागाउँबाट असई सिंहको सेटिङमा सरसामान ब्यापक तस्करी हुने गरेको समाचार विभिन्न संचार माध्यममा आउने गरेका छन् ।
सिमावर्ती क्षेत्रको इनर्वागाउँबाट दिनहुँ खुल्ला रुपमा तस्करी भइरहँदा पनि माथिल्लो निकाय मौन बस्दै आएको छ । असई बिटु सिंह पावर लगाएर सिमानाकाकै युनिटहरुमा मात्रै कार्यरत रहेका छन् । उनी पटक पटक विवादमा पर्ने असई हुन । सिंह मिर्जापुर चौकीमा हुँदा नेपाली गिटी तस्करी काण्ड र सबैठ्वा चौकीमा हुँदा लकडाउनमा अबैध भट्टी संचालन तथा तस्करी गराई घुस उठाएको बिषय पनि धेरै संचारमाध्यममा उजागर भएको थियो ।