काठमाडौं । नेपालमा विदेशी मदिराको आयात तथा बिक्री गर्दै आएको ग्रिनलाइनका संचालक अभिषेक अग्रवाल, अमित अग्रवालको परिवार मिटरब्याजको रकम तिर्न नसकेपछि भारत फरार भएको खुलासा भएको छ ।
सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालका निकट शिवजी राय यादवको समूहले २० करोड रुपैयाँ अग्रवाललाई मिटरब्याजमा दिएकोक थियो । २० करोडको दुई गुणा बढी ब्याज असुलीसकेपछि पनि रायको समूहले ऋण चुक्ता नभएको भनी पैसा माग्ने क्रम जारी राख्यो ।
बैकको ८० करोड भन्दा बढी ऋण लिएका अग्रवाल दाजुभाइले कोभिड–१९ का कारण बजारको बक्यौता असुली गर्न नसकेपछि किस्ता हाल्न मिटरब्याजमा पैसा लिए । मिटरब्याजमा लिएको पैसा तिर्न नसकेपछि उनीहरु भारततर्फ पलायन भएका थिए ।
नेपाल इन्भेस्टमेन्ट बैंकको ३२ करोड, मेगा बैंकको २५ करोड, एभरेस्ट बैंकको २२ करोड, ग्लोबल आईएमई बैंकको १८ करोड कर्जा लिएका ग्रिनलाइनका संचालकहरु कोरोना महामारीमा मदिराको कारोबारमा आएको कमी र वाइन उद्योगमा गरेको लगानी जोखिममा परेपछि मिटरब्याजीको शरणमा पुगेका थिए । सशस्त्रका आइजीपी शैलेन्द्र खनालका अति निकट शिवजी राय यादव (एनआइडीसी)का पूर्व महाप्रबन्धक)को समूहले ग्रिनलाइनका संचालकलाई २० करोड मिटरब्याजमा दिएको थियो । एनआइडीसी राष्ट्रिय बाणिज्य बैंकमा गाभिएपछि राय ब्यापारीका रुपमा आफूलाई प्रस्तुत गर्ने गर्दछन् ।
अग्रवालहरुले ४० करोड तिरिसक्दा पनि अझै पनि चुक्ता नभएको भन्दै यादवले तनाव दिन नछाडेको र रकम नदिए जंगलमा इन्काउन्टर गर्ने धम्की दिएपछि उनीहरु भारत पलायन हुनुपरेको बयान सीआइबीमा दिएको स्रोतले बताएको छ । शिवजी रायको कनेक्सन सशस्त्रका आइजीपी खनाल, नेपाल प्रहरीका डीआइजी उत्तमराज सुवेदीदेखि एसएसपी अशोक सिंह लगायतका प्रहरी अधिकारीसँगसँग रहेको छ ।
प्रहरी अधिकृतहरुकै पैसा भएकाले इन्काउन्टर गर्ने धम्की रायको समूहले दिएकाले अग्रवाल परिवार भारत गएका थिए । सीआइबीमा अग्रवाल दाजुभाइले आफूहरुलाई थ्रेट दिएपछि नै सम्पर्कविहीन भएको बयान दिएको स्रोतले बताएको छ ।
अग्रवाल परिवारले ग्रिन लाइन, अभिअमी, भिन्याट स्टोर्स तथा मदिरा बिक्री सेन्टर प्रालिलगायतका फर्म सञ्चालन गर्दैआएका छन् ।