Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवकाश भइसकेपछि ७ महिना कार्यालय प्रमुख भएका खड्काले के–के गरे अनियमितता ? 


    बिहिबार, माघ २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । मालपोत कार्यालयमा अवकाश पाएपछि पनि पाँच महिना २६ दिन गैरकानुनी रुपमा कार्यालय प्रमुख भएका कलकबहादुर खड्का प्रमुख रहँदा मालपोत कार्यालय चावहिलमा अरबौं रुपैयाँ अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    खड्काले बाटो भएको जग्गालाई गोरोटो उल्लेख गरी कम मूल्यांकनमा जग्गा पास गराउने, लाभकर छली गरेबापत रकम असुल गर्ने, रजिष्ट्रेशन शुल्क कम राखेर राजस्श्वमा मिलेमतो गरी खाने जस्ता अनेक धन्दा सञ्चालन गरेका थिए ।

    महालेखाको अन्ठाउन्नौं प्रतिवेदनमा उल्लेख गरिए अनुसार उनले एक रियल स्टेट कम्पनीको मातहतमा रहेको बुढानीलकण्ठ नगरपालिकाको ११ रोपनी १३ आना जग्गा चार करोड ६४ लाख ४३ हजारमा एक जनालाई पास गरे ।

    १९ दिनपछि फेरि उक्त जग्गा उही सञ्चालकहरु आवद्ध भएको अर्को कम्पनीले उक्त व्यक्तिबाट ३२ करोडमा खरिद गरियो । यसरी उक्त जग्गा २७ करोड ३५ लाख ५८ हजार घटी थैली कायम गराउँदा २५ प्रतिशतले हुने आयकर ६ करोड ९३ लाख ८९ हजार छुट भएकाले छानविन गर्नुपर्ने उल्लेख गरिएको छ । यसमा पनि कार्यालय प्रमुख खड्काले करोडौं रुपैया घुस बागेनिङ गरी लिएको मालपोत कार्यालका एक जना कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

    मालपोत कार्यालय चावहिल न्यूनतम मूल्यांकन पुस्तिकामा एउटा मूल कित्ताबाट कित्ताकाट भई पारित हुने लिखतमा क्षेत्रफलको अनुपातमा समान थैली कायम गरिने व्यवस्था गरिएको छ । तर, चावहिल र डिल्लीबजार मालपोतका १८ जना निसर्गकर्ताले मालपोत कार्यालयका प्रमुख खड्काकै मिलेमतोमा २४ करोड ६ लाख १७ हजार घटी थैली कायम गराएका छन् । यसरी छुट गरिएको रजिष्ट्रेशन दस्तुर ८४ लाख तीन हजार र पूँजीगत लाभकर ९८ लाख ४३ हजार गरी जम्मा एक करोड ८२ लाख ४६ हजार असुल उपर गर्न महालेखाको ५८ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    अवकाश भएपछि पनि जागिरमै गैरकानूनी किसिमले बसिरहेका खडकाको समयमै केही रोचक घटनाहरु पनि भएका छन् । बुढानीलकण्ठ नगरपालिकास्थित कित्ता नम्बर ६६९, ६७३, ६७५ को दुई रोपनी जग्गा र त्यसमा बनेको घर रु चार करोड ३० लाखमा कलेजकै अध्यक्षलाई २०७३ सालमा बिक्री गरियो । त्यसको तीन बर्षपछि पुरानै मूल्यमा कलेजका अध्यक्षलाई पुनः उक्त घरजग्गा बिक्री गरियो । यसरी व्यवहारिक रुपमा सामान्य नदेखिएको कारण छानबिन गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यो कलेजसँग खड्काले राम्रै रकम हात पारेको एक जना मालपोतकै कर्मचारी बताउँछन् ।

    भक्तपुरको मालपोत कार्यालयमा अधिकृत रहँदा एक जना मारवाडीसँग मिलेर खड्काले कलंकीमा चार रोपनी जग्गा प्लटिङ गरी न्यून मूल्य देखाएर बिक्री गरे । मारवाडी व्यापारीमार्फत् नै कार्यालय प्रमुख भएपछि हुण्डीबाट रकम विदेश पठाउने गैरकानूनी धन्दासमेत गरेको खुल्न आएको छ । 
    यसरी जग्गा रजिष्ट्रेशन, डोर पास, लाभकर छलीमा अनेक धन्दा सिकाउनमा मालपोत कार्यालय प्रमुख खड्का पोख्त मानिन्थे ।

    खड्काले ३७ वर्ष पाँच महिना १६ दिन जागिर गरेको उनले किताव खानामा भरेको विवरणमा उल्लेख छ । उनले मासिक ३७ हजार तीन सय १३ रुपैयाँ निवृत्तिभरण पाउने जनाएका छन् । तर, यिनै खड्काले वैशाख ४, २०७८ देखि २०७८ असार ३१ सम्म एकलाख ५२ हजार पाँचसय र २०७८ साउन १ गते देखि असोज मसान्तसम्मको दुई लाख १२ हजार छ सय सन्ताउन्न रुपैया बढि जागिर गरी बेरुजु आएको भन्दै फिर्ता गरेका छन् ।

    यो अवधिमा उनले गरेका दूरगामी निर्णयहरुका कारण राज्यले कति क्षति ब्येहोरेको छ ? त्यसको लेखाजोखा भने भइसकेको छैन । खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत आफूले मिलाएका कारण केही नहुने भन्दै आफू निकटका कर्मचारीहरुलाई भन्ने गरेका छन् ।

    खड्काले गरेका निर्णयहरु माथि छानबिन नभएको अवस्था हेर्दा कतै सत्य त हैन भन्ने ठाउँ रहेको एक जना मालपोत कार्यालयकै कर्मचारीले बताए । खड्काले आफू श्रीमती नीता श्रेष्ठ खड्का र ससुरालीतर्फका आफन्तहरुको नाममा गरी झण्डै ३० करोडका गैरकानूनी सम्पत्ति जोडेको बताइन्छ ।

    बझाङ जिल्लाको जय पृथ्वी नगरपालिका वडा नम्बर तीनमा सामान्य परिवारमा जन्मेका खडकाका बाबु ध्रुव खड्काको ६ महिना पनि खाने सम्पत्ति नभएको छिमेकी बताउँछन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभाग लगायतका निकायहरु उनको अवैद्य सम्पत्ति छानबिन नगरी मौन बस्नुले ‘वनमा बाघ कराउनु र खोरमा बाख्रा हराउनु’ भन्ने उखानलाई बल मिलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार