Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीतर्फ तीन एआईजी थपको प्रस्ताव मन्त्रिपरिषदमा पेस, यी हुन् प्रमुख दाबेदार


    बिहिबार, माघ २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस भएको छ ।

    उच्च स्रोतका अनुसार गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरीतर्फ तीन जना एआईजी थप गर्नेसम्बन्धी प्रस्ताव पेस भएको हो । गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग दरबन्दी थपका लागि स्वीकृति मागेको थियो । अर्थले स्वीकृति दिएपछि सो प्रस्तावलाई गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको हो ।

    ‘अर्थ मन्त्रालयको स्वीकृतिपछि गृह मन्त्रालयले नेपाल प्रहरीतर्फ एआईजी थप गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ, गत सोमबारको बैठकमा सो प्रस्ताव पेस भएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

    यसअघि नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको थियो । तर, सशस्त्र प्रहरीतर्फ भने संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरेर ल्याउन भन्दै तत्काल एआईजी थप नगर्नेगरी प्रस्ताव फिर्ता भएको छ ।

    प्रहरी प्रधान कार्यालयले भने तीन एआईजीको दरबन्दी थपका लागि ओएन्डएम गरेर गृह मन्त्रालयमा पठाएको थियो । प्रधान कार्यालयको सो प्रस्तावलाई गृह मन्त्रालयले केही समयअघि नै अघि बढाएको थियो । तर, अर्थ मन्त्रालयले सहमति नदिँदा एआईजी थपसम्बन्धी फाइल ती दुई मन्त्रालयमा नै घुमेको घुम्यै थियो ।

    स्रोतका अनुसार पछिल्लो समयमा अर्थ मन्त्रालयले समेत एआईजी थप्ने प्रक्रियामा सहमत बनेपछि प्रक्रिया थप अघि बढेको हो । सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकबाट एआईजी थपको निर्णय हुनेछ ।

    यसअघि एआईजी थपको विषयमा अर्थ मन्त्रालयले भने बजेट अभाव देखाउँदै अड्काउँदै आइरहेको थियो । एआईजी दरबन्दी थपिँदा तीनमध्ये एउटा कोटा अर्थमन्त्री जनार्दन शर्मा निकटलाई दिने विषयमा उच्च तहमा सहमति बनेपछि दरबन्दी थपको प्रक्रिया अघि बढेको बताइन्छ । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार