काठमाडौं । राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा संचालित क्यासिनोले राज्यलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी पटकपटक ताकेदा गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले सो होटलको ५ तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द गरिदिएका छन् ।
रोयल क्यासिनोले रोयल्टी दस्तुरबापत सरकारलाई तिर्नुपर्ने ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा बक्यौता नतिरेकाले इजाजतपत्र रद्द गरेको पर्यटन विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै होटल याक एण्ड यतिको पाँच तारा स्तरको बर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय गरेको छ । यसअघि विभागले २०७८ माघ १९ मा सात दिनको म्याद दिई रोयल्टी बुझाउन गोरखापत्रमा सार्वजनिक सूचना निकालेको थियो ।
सार्वजनिक सूचनामा सात दिनभित्र रोयल्टी नबुझाएमा इजाजतपत्र रद्द गर्ने उल्लेख गरिएको थियो । तर रोयल क्यासिनोले ७ दिनभित्र रोयल्टी नतिरेपछि क्यासिनोको इजाजतपत्र रद्द गरेको छ । साथै क्यासिनो संचालन गर्न दिने होटलको समेत पाँचतारा बर्गीकरण रद्द गरिएको छ ।
क्यासिनोको इजाजतपत्र र होटलको पाँचतारे रद्द गरिएको पत्र