काठमाडौं । सरकारी वकिलहरुमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । पछिल्ला दिनमा सरकारी वकिलहरु पनि बैकिङ कसुरदेखि बिभिन्न आर्थिक सरोकारका मुद्दामा सेटिङमा संलग्न हुन थालेका समाचारहरु आइरहेका छन् ।
राजस्वछलीका मुद्दामा महान्यायाधीवक्तासम्म मिलेर सेटिङ गर्ने क्रम कोकाकोलाको पूँजीगत लाभकर छली मुद्दा दायर गर्न राजस्व अनुसन्धान विभागलाई रोकिएको घटनादेखि कुमारी बैंकले कीर्ते जग्गा धितो राखी प्रदान गरेको कर्जाको बिषयमा सीईओदेखि उच्चतहका कर्मचारीलाई जोगाउन ठूलो आर्थिक चलखेल भएका बिषय छरपष्ट आउन थालेका छन् ।
ट्रान्सपोर्ट कम्पनीमार्फत् तस्करी गरी अरबौं राजस्व राजस्वछली गर्ने पशुपति रोड क्यारियरलाई जोगाउन पनि महान्यायाधीवक्ता खम्बबहादुर खातीले सरकारी वकिललाई चर्को दबाब दिइरहेका छन् । उनले आर्थिक चलखेलकै आधारमा अरबौं राजस्वछलीका मुद्दामा चासो दिएको स्रोत बताउँछ । सरकारी वकिलहरु भ्रष्टाचारमा संलग्न हुने गरेको गुनासोपछि अख्तियारले निगरानी सुरु गरेको छ । यसैक्रममा आज सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापाबिरुद्ध अकूत सम्पत्ति आर्जनमा आयोगले मुद्दा दायर गरेको छ । थापा सरकारी वकिलमध्ष्े बदनाम मानिन्थे । घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारको आयुक्तबाट बर्खास्त भएका राजनारायण पाठक सहन्यायाधीवक्ता हुँदा थापा उनका विश्वासपात्र मानिन्थे ।
उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सहन्यायाधिवक्ता (हाल निलम्बित) थापाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले बिभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा गरेको अनुसन्धानका क्रममा ६१ लाख २ हजार ७६ रुपैयाँ ९७ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
थापाको २०४५ असार ५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आर्थिक बर्ष २०७५–०७६ सम्मको सम्पत्ति आयोगले जाँच गरेको थियो । जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कुल खर्च र सोही अवधिको आयहरुको आयव्ययको प्रवाह विवरण अनुसार जाँच अवधिमा स्रोत खुल्न आएको उनको वैध आय रु. १ करोड ७६ लाख ७६ हजार १ सय बीस रुपैयाँ ९५ पैसा देखिएको अख्तियारले जनाएको छ । सोही अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानी रु र्२ करोड ३७ लाख ७८ हजार १ सय ९७ रुपैयाँ ९२ पैसा खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको ६१ लाख २ हजार ७६ रुपैयाँ ९७ पैसा रकमको स्रोत खुल्न नसकेको उल्लेख छ ।
थापा राष्ट्रसेवक भएपश्चात के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको आयोगको ठहर छ । थापा र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम श्रीमती अन्जु खड्का थापाको नाममा ट्रक खरिद, जग्गा खरिद, घर निर्माण एवं विभिन्न बैंकहरुमा जम्मा गरेको देखिंदा सार्वजनिक पद धारण गरी थापाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचारको रकम बराबर बिगो मागदाबी गरी मुद्दा दायर गरिएको छ । थापाकी श्रीमती अन्जु खड्कालाई पनि आयोगले प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।