चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलका अनुसार २०५५ सालको कात्तिक २८ गते खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको हाे ।
गैंडा मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका-२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको पौडेलले बताए ।
निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो। पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए । न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको पौडेलले बताए ।