Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्यविनायक नगरपालिकामा बैकिङ सेवाः एनआइसीले सन्तोषजनक सेवा नदिएपछि अर्को बैंक छनोट गर्न दबाब


    मंगलबार, माघ २५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरबासीलाई राजस्व तिर्न सहजताका लागि बैंक काउन्टर खोल्न १३ महिनाअघि एनआइसी एसिया बैंकलाई अनुमति दिएको थियो । विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने भनियो, तर आधुनिक होइन, पुरानो ढंगको सेवासमेत पाउन नसकेको जनगुनासो छ ।

    वडा वडामा संकलन भएको राजस्व समेत सचिवहरुले बैंकमा जम्मा गर्न कठिनाई झेल्नुपरेको छ । सूर्यविनायक नगरपालिकामा १० वटा वडा छन् । ती वडा कार्यालयका सचिवहरुले जम्मा भएको राजस्व संकलन गर्न नगर प्रहरीलाई बोलाउँदै बैंकमा पठाउनुपरेको छ ।

    नगरपालिकामा राजस्व तिर्न आउने सेवाग्राहीलाई पनि घन्टौं लाइनमा बस्नुपरेको छ । नगरपालिकामा राखिएको बैंकको काउन्टरमा पर्याप्त कर्मचारी समेत खटाइएको छैन । सूर्यविनायक नगरपालिकाको सम्पूर्ण बैंकिङ कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएको एनआईसी एसिया बैंकले २ जना कर्मचारीमात्र राखेको छ ।  ती कर्मचारी पनि आलाकाँचा अर्थात् सिकारु  जस्तै छन् । सेवाग्राहीमात्र होइन, नगरपालिकाकै कर्मचारी पनि पीडित हुने गरेका छन् ।

    सुर्यविनायक नगरपालिकाले बैंक छनोट गर्दा प्रतिस्पर्धाबाट प्रत्येक वडामा राजस्व संकलन गर्ने काउन्टर राख्नेगरी गर्नुपर्नेमा अपारदर्शी रुपमा गरेकाले पनि सेवाग्राहीले हैरानी खेप्नुपरेको छ । राजस्व तिर्न जाँदा घन्टौं लाइनमा बस्नुपरेको पीडा बालकोटका इश्वर पौडेलले प्रकट गरेका छन् । उनले भने– ‘एनआईसी एशिया बैंकले नगरबासीलाई छिटोछरितो सेवा दिन सकेको छैन । सेवाको स्तर दयनीय छ ।’ 

     नगरपालिकाबाट काम लिने सिलसिलामा ब्यक्ति वा उपभोक्ता समितिको बैंकखाता खोल्नुपर्ने भएमा खाता खोल्न लामो समय लगाउने तथा अनावश्यक झन्झट सृजना गर्ने गरिएको छ । बुढाबुढी असक्त तथा अपाङ्गता भएका ब्यक्तिको लागि बैंकबाट कुनै खालको प्रबन्ध गरिएको छैन ।

    तरलता अभावको अवस्थामा एनआईसी एसिया बैंकले नगरपालिकाको ५० देखि ८० करोड रकम विनाब्याज चलाउन पाएको छ । तर सेवा सन्तोषजनक नभएकाले सूर्यविनायक नगरपालिकाले प्रतिस्पर्धाका आधारमा छिटोछरितो सेवा दिने र वडा वडामा काउन्टर राखी राजस्व संकलन गर्नेगरी बैंक छनोट गर्नुपर्ने पक्षमा १० वटै वडासचिवहरु पुगेका छन् । एक वडा सचिवले भने– काठमाडौंं महानगरपालिकाले जस्तै सूर्यविनायक नगरपालिकाले पनि प्रतिस्पर्धाको माध्यमबाट बैंक छान्नुपर्छ ।  जसले वडा वडाबाट राजस्व संकलन गरोस् । विनाप्रतिूस्पर्धा बैंक राख्दा यस्तो अवस्था आएकाले अब वडा वडाबाट राजस्व संकलन गर्ने प्रतिबद्धतासहित छनोट गर्नुपर्छ ।

    ८० करोड बिनाब्याज चलाउने तर कर्मचारी भने २ जना राखेर नगरबासीलाई सास्ती दिने बैंकको बिकल्प खोज्नैपर्छ, ती वडासचिवले भने–‘काठमाडौ महानगरपालिकाले प्रत्येक वडामा राजस्व संकलन गर्ने काउन्टर राख्नेगरी बैंक छानेको छ । सूर्यविनायकले पनि त्यसैगरी छान्नुपर्छ, ८० करोड रकम बिनाब्याज चलाउन पाउने भएपछि जुन बैंक पनि आइहाल्छ नि ?’ 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार