काठमाडौँ । सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने योजना बनाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिनेगरी तयारी गरेको हो ।
अहिले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा नेपाल प्रहरीले लिइरहेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा यी तीनओटै अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख छ ।
आगामी एक वर्षभित्र सो काम सम्पन्न गरेर सशस्त्रलाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा दिइने कार्ययोजनामा उल्लेख छ । सरकारले सशस्त्रलाई अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा दिँदा आकस्मिक सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्ने दाबी गरिएको छ ।
सशस्त्रले विमानस्थलको सुरक्षा आफूहरूले पाउनुपर्ने माग गर्दै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय सीमाकै रूपमा हेर्ने प्रचलन भएकाले त्यहाँको सुरक्षा जिम्मा आफूहरूले पाउनुपर्ने भन्दै सशस्त्रले लामो समयदेखि लबिङसमेत गर्दै आइरहेको छ ।
उता, सरकारले रेलको सुरक्षा व्यवस्थापनका लागि ‘रेल्वे सुरक्षा गण’ स्थापना गर्न गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयले रेलको सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण र त्यसैमा केन्द्रित एउटा निकाय चाहिने भन्दै दुई वर्षभित्र रेल्वे सुरक्षा गण स्थापना गर्ने तयारी गरेको हो । यसको जिम्मा सशस्त्र प्रहरीलाई दिइने कार्ययोजनामा उल्लेख छ ।
यस्तै, सशस्त्र प्रहरीकै कमान्डमा आगामी तीन वर्षभित्र चारवटा औद्योगिक सुरक्षा गुल्म स्थापना गर्ने तयारी गरिएको छ । त्यसैगरी, तीन वर्षभित्र सशस्त्रका सातवटा आश्रित गुल्मलाई अनाश्रित गुल्ममा स्तरोन्नति गरिने उल्लेख छ । राजधानी दैनिकबाट