काठमाडौं, २ चैत । कोरना भाइरसको माहामारी भैरहेको अवस्थामा स्वास्थ्य क्षेत्रमा कर्मचारी अभाव हुन नदिनु सरकारको प्रमुख कर्तव्य हो । तर वीर अस्पतालाट समायोजन भएका कर्मचारी लामो समयदेखि खटाएको कार्यालयमा हाजिर हुन गएका छैनन् ।
वीर अस्पतालमा २०७२ सालमै ३२ बाट ९ मा दरवन्दी कटौती गरिसकेको र समायोजनमा स्थानीय र प्रदेश अन्तर्गत परेका वीर अस्पतालका तीन दर्जन स्वास्थ्य र प्रशासनका कर्मचारी रमाना नलिई राजनैतिक दबाबमा अद्यापि कार्यरत छन् । उनीहरुले विरामी नभए पनि मेडिकल बोर्डमा घुस खुवाएर बिभिन्न कडा रोग लागेको देखाउँदै सिफारिस लिएर समायोजन भएको कार्यालयमा गएका छैनन । जसका कारण समायोजन भएका कार्यालयमा स्वास्थ्यकर्मी अभाव हुन गएको छ ।
वीर अस्पतालका एक कर्मचारी नेता भन्छन्–समायोजन भएका ठाउँमा नजानेहरु नक्कली विरामी हुन् । कुनै रोग नलागे पनि मुटु, मेरुदण्डको हड्डी खिएको जस्ता ८ किसिमका कडा रोग लागेको भनी मेडिकल बोर्डबाट सिफारिस लिएका छन् । खटाएको ठाउँमा गएका छैनन् । यदि बिरामी नै हुन् भने यस्ता रोगीलाई किन राखिराख्ने ? सरकारले अबकाश दिनुपर्छ ।
वीर अस्पतालका एक बिभागीय प्रमुख भन्छन्–जस जसले मेडिकल बोर्डबाट सिफारिस बनाए सबै एकसे एक बलिया र हट्टाकटुटा छन् । खाली वीर अस्पताल छोड्न नपर्ने, भत्ता खान पाइने, स्टोर र खरिद ,मेडिकल बोर्डमा बस्ने र घुस कमिसन असुली गर्न पाइने भएकाले पनि वाहिर जान मान्दैनन् । वीरमा उनीहरु तलवका साथै ५० प्रतिशत भत्ता पनि पाउँछन् ।
स्थानीय तहमा समायोजन भएकाहरुलाई तत्काल रमाना दिन वीर अस्पतालका कर्मचारीहरुले माग गरेका छन् तर भत्ता खान, स्टोर, खरिद जस्तो कमाउ अड्डामा बसेर अनियमितता गर्नलाई उनीहरु कहीँ जादैनन् । यो बिषयमा स्वास्थ्य सचिव यादव कोइरालाको ध्यानाकर्षण गराउने अस्पतालका एक कर्मचारी बताउँछन् । वाहिरबाट वीर अस्पतालमा सरुवा भएका चाहिँ अस्पताल गएर हाजिर गरी काम गरिरहेका छन् भने वीरबाट बाहिर समायोजन भएका भने गएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएको कार्यालयमा नजाने कर्मचारीलाई बर्खास्तसम्म गर्नसक्छ ।