Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसिया रोजगारीमा पनि सिन्डिकेटको तयारीः २५ वटा म्यानपावरमात्र छनोट गर्न कैलाश खड्काको दौडधूप


    शनिबार, माघ २२ २०७८
    4.4K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । बायोमेट्रिक प्रणालीका नाममा स्वास्थ्य परीक्षणमा जस्तै मलेसियामा नेपाली कामदार पठाउनका लागि पनि निश्चित म्यानपावरलाई मात्र अनुमति दिई सिन्डिकेट खडा गर्ने चलखेल भइरहेको छ । देशभर जम्मा ३९ वटा स्वास्थ्य संस्थाले सिन्डिकेट कायम गरी बायोमेट्रिक प्रणालीका नाममा प्रतिकामदार चार हजार ५ सय रकम असुल गर्दैआएका छन् ।

    स्वास्थ्य परक्षिणमा जस्तै २५ वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउन अनुमति दिई सिन्डिकेट लगाउनका लागि कैलाश खड्काको समूह लागेको छ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिकका नाममा सिन्डिकेट लगाउने योजनाकार पनि खड्का नै थिए । बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था छान्दा नै करोडौं रकम घुस दिनुपर्छ भनेर संकलन गरेका खड्काले अहिले म्यानपावरहरुसँग डिल गरिरहेका छन् । मलेसिया कामदार पठाउन अब २५ वटा मात्रै म्यानपावरले पाउँछन्, त्यसमा पर्ने हो भने मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बुझाउन रकम चाहिन्छ भनेर उनले माग्न उठाउन सुरु गरेका छन् । 

    मलेसियामा स्वास्थ्य परीक्षणमा जस्तै कामदार आपूर्तिमा पनि २५ वटा म्यानपावरलाई मात्र अनुमति दिनेगरी सिन्डिकेट कायम गराउनका लागि बंगलादेशी नागरिक अमिन पनि अहिले नेपाल आएका छन् । मलेसिया सरकारका मन्त्रीलाई नै प्रभावमा पारी २५ वटा म्यानपावरलाई मात्र अनुमति दिनको लागि सेटिङ गर्न अमिन नेपाल आएको स्रोत बताउँछ । बंगलादेशी मूलका मलेसियन अमिन मार्फत् मलेसियामा जाने कामदार ठग्न पाइला पाइलामा ब्रम्हुलट गर्ने माध्यम बायोमेट्रिक स्वास्थ्य प्रणाली, भीएलएन भित्र्याउने काम भएको थियो । तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई करोडौं रुपैयाँ घुस दिएर बायोमेट्रिक स्वास्थ्य प्रणालीको निर्णय गराउने अमिन नै बिचौलिया थिए ।

    मलेसियाका लागि स्वास्थ्य परीक्षणमात्र होइन, म्यानपावरमा पनि सिन्डिकेट लगाउने तयारी भइरहेकोबारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)ले भने–‘त्यस्तो सिन्डिकेट हुन सक्दैन । म त्यस्तो हुन दिन्न । यसमा कोही लागेको छ, त्यो सफल हुनेछैन । म सिन्डिकेट कायम गर्ने निर्णयको पक्षमा कदापी थिइन र त्यस्तो हुन दिन्न ।’

    कैलाश खड्काले मलेसियामा कामदार पठाउनका लागि म्यानपावरहरुको सिन्डिकेट कायम गर्नका लागि श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालसँगको सम्बन्धलाई आधार बनाउने गरेका छन् । 

    मन्त्री श्रेष्ठले सिन्डिकेटका कारण आफू विवादमा पर्ने भएपछि सचिव अर्याललाई अगाडि सारेको आशंका पनि म्यानपावर ब्यवसायीहरुले गरेका छन् । अमिनले बंगलादेशमा जस्तै नेपालमा पनि मलेसिया कामदार पठाउन सिन्डिकेट लागू गरी २४ वटा म्यानपावरलाई मात्र दिने र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणादेखि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सम्म जति पनि खर्च गर्ने आश्वासन कैलाश खड्कालाई दिएका छन् । म्यानपावरको सिन्डिकेटका लागि कैलाश खड्काले सचिव एकनारायण अर्यालसँग पटक पटक म्यारियटमा ब्ल्यू लेबलसहितको ककटेल डिनर गरिसकेका छन् । 

    बंगलादेशी मूलका अमिनले तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग सेटिङ गरी ३९ वटामात्रै स्वास्थ्य संस्थालाई कथित बायोमेटिक स्वास्थ्य परीक्षणको अनुमति दिएका थिए । जसका कारण कामदारले मलेसिया सरकारले भिसा शुल्क वापत रु. ७ सय रुपैयाँमात्र तोकेको भए पनि कैलाश खड्काको सिन्डिकेट रहेका संस्थाहरुले स्वास्थ्य परीक्षण, पासपोर्ट संकलन, भिसा प्रोसेसिङ लगायतका नाममा कामदारबाट १९ हजार ३२३ रुपैयाँ उठाउँदै आएका थिए ।

    गोकर्ण बिष्ट श्रम मन्त्री हुँदा २०७५ जेठ २ मा सिन्डिकेट कायम गरी ठगी गरिरहेका यस्ता संस्थालाई कारबाहीको प्रक्रिया सुरु भएको थियो । तर कैलाश खड्काको समूहले मलेसियासम्मै सेटिङ गरेकाले ठगी धन्दा रोक्न बिष्टले सकेनन् ।

    कैलाश खड्का मलेसियामा कामदार पठाउँदा स्वास्थ्य परीक्षण गर्ने ३९ वटा बायोमेट्रिक स्वास्थ्य संस्थाहरुको स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष हुन् ।

    कैलाश खड्का को हुन् ?

    टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य ब्यवसायीबाट मलेसियाको सरकारका मन्त्रीलाई घुस दिनुपर्छ भनी बीसौं करोड रुपैयाँ उठाएको आरोप खड्कामाथि लाग्ने गरेको छ । 
    बायोमेट्रिक स्वास्थ्य परीक्षण सुरु भइसकेपछि पनि उनले ३६ संस्थाबाट मासिक दररेट तोकेर शक्तिकेन्द्रलाई बुझाउने नाममा असुलेको आरोप छ । उनले बुढानीलकन्ठ(आरजु देउवा), खुमलटार (प्रचण्ड) र बालकोट(ओली) लाई बुझाउन भनेर रकम लिने तर त्यो कतै पनि नबुझाई आफैंले लिएको एक ब्यवसायीले बताए । ती ब्यवसायीले भने–बुढानीलकन्ठ, खुमलटार र बालकोट मिलाउनुपर्छ भन्दै रेट तोकेका थिए ।

    ३६ वटै स्वास्थ्य ब्यवसायीले बुझाउनुपथ्र्यो । ३६ स्वास्थ्य ब्यवसायीबाट मासिक २ करोड रुपैयाँको हाराहारी रकम शक्तिकेन्द्रमा बुझाउने भन्दै उठाएको आरोप उनीमाथि छ ।  तर २ बर्षसम्म उठाएको त्यो रकम उनले ती शक्तिकेन्द्रमा नबुझाई आफैंले राखेको कुरा उनको अरब हाराहारीको अहिलेको सम्पत्तिले पुष्टि गरेको छ । उनले हालै लाजिम्पाटस्थित शिशु अर्यालको ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका छन् । जुन बंगलामा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बस्थे । २०७० सम्म सामान्य आर्थिक हैसियत पनि नभएका कैलाश खड्का अहिले अरबका मालिक छन् । खड्काको आजभोलि प्रचण्डका कान्छा ज्वाई जीवन आचार्यसँग बाक्लो उठबस छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार