काठमाडौं । देशभर वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहेको मौसमविदले बताएका छन् । आज बिहान प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने छ । यस क्रममा प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै आज रातिदेखि भने मौसममा केही सुधार हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।