Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवरूद्ध दशरथचन्द राजमार्ग खुलायो नेपाली सेनाले


    शुक्रबार, माघ २१ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । हिमपातका कारण अवरूद्ध बनेको बैतडीको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ।  

    बिहीबारदेखि अवरूद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ-गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो।  

    उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको  नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो।

    राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको थियो।

    हिउँ पन्छाएपछि उक्त सडकखण्डमा रोकिएका सवारी साधन र यात्रु आ–आफ्नो  गन्तव्यतिर लागेका हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताए।  

    उनले भने, ‘आपत्विपद्मा नेपाली सेना भन्ने हाम्रो मूल उद्देश्यका साथ हाम्रो टोली हिउँ पन्छाउन सडकमा उत्रिएको हो, यसअघि बिहीबार बेलुका पनि हाम्रो टोलीले बीच बाटोमै रोकिएका सवारीलाई हिउँ पन्छाएर गन्तव्यमा पठाएको थियो।’

    सतबाँझ– गोठलापानी खडकखण्ड सञ्चालनमा आएको भए पनि यहाँका अन्य राजमार्ग अझै अवरूद्ध रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 

    यहाँको अनारखोली, खोड्पे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपुथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प रहेको हो।

    उनले भने, ‘जेसिबी लगाएर राजमार्ग सुचारू गर्ने पहल भएको छ, हिउँ पर्ने क्रम अझै जारी रहेकाले समस्या भएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार